खोटाङ, १ कातिक । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्युु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, साेही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्माको पहिचान खुलेको हो ।
लफ्याङका स्थानीय जनक राईले दिनुभएको जानकारीअनुसार दुवेकी मृतक युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आउनुभएको थियो । इन्द्रेणीपोखरीकी मृतक स्वस्तीका काठमाडौँ बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा रहेको जनाइएको छ ।
गएराति करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब एक सय ५० मिटर तल सुमो खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । गुडिरहेको सुमो अनियन्त्रित भएर दुर्घटना हुँदा सडकभन्दा केही तल मृतकहरुकाे शव फेला परेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका तीन बेपत्ता लफ्याङकै रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्ताेषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई रहेकाे स्थानीय गाेपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
रातकाे समयमा भएकाे दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उहाँकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा रहेका छन् । सुमो चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मासमेत घाइते भएको जनाइएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशिष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका चार घाइतेमध्ये शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ । काठमाडौँबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित दश जना यात्रु सवार रहेको प्रहरी जनाएको छ ।
मृतक स्वस्तीका र घाइते अङ्कित दिदीभाइ भएको खुलेको छ । मृतक स्वस्तीका र घाइते अङ्कित दिक्तेलबजारमा बसेर ठेक्कापट्टाको काम गर्दै आएका खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका सुरेश विश्वकर्मा छोराछोरी हुन् ।
दशैँ मनाउन घर फर्किएका यात्रु लिएर आएको सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ । रोजगारी तथा अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आएका खोटाङ्गेहरु दशैँ–तिहार बनाउन आफ्नो घर फर्कनेक्रममा दुर्घटनामा परेका हुन् ।


