सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता, खोटाङका तीन घाइते

Minakshi Rai
।

खोटाङ, १ कार्तिक । मध्यपहाडी लोकमार्गअन्तरगत दिक्तेल–काठमाडौँ सडकखण्डमा पर्ने सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ नागथानबाट यात्रुवाहक सुमो जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने, तीन जना बेपत्ता भएका छन् । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका मृतक तथा बेपत्ताको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । चालकले रातारात बिना टिकट यात्रु उठाएकाले समस्या भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट गएराति करिब दश बजे यात्रु लिएर हिँडेको जिप आज (आइतबार) बिहान साढे दुई बजे दुर्घटना हुँदा खोटाङका तीन जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उहाँकी १२ वर्षीया छोरी सिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक ओखलढुङ्गाका करिब २९ वर्षीय आशिष विष्टसमेत घाइते रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो भने, पछि चारै जनालाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइते चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको जनाइएको छ ।

काठमाडौँबाट दशैँ मनाउन घर फर्किएका यात्रु लिएर आएको जिप दुर्घटना हुनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सुनकोशीमा खसेर दुर्घटनाग्रस्त बनेको जिपमा चालकसहित दश जना यात्रु सवार रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया