एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी

Halesi Khabar
1k Shares

खोटाङ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवबिक्रम राई भारी मतले विजयी हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार साँझ निर्वाचनमार्फत सम्पन्न आठौँ जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतले पछि पार्दै निवर्तमान उपाध्यक्ष राई अध्यक्षमा विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी राईले ३३९ मत ल्याउँदा दंगालले १८७ मत मात्र ल्याउनुभएको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित हुनुभएको थियो ।

उपाध्यक्षमा राई समूहकै कुमार आचार्य ३५८ मतसहित विजयी हुनुभएको छ । उपाध्यक्षका अर्का प्रत्यासी उपिनकुमार राईलाई २२४ मतले पछि पार्दै निवर्तमान सचिव आचार्य उपाध्यक्षमा विजयी हुनुभएको हो ।

पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कार्यसमितिको सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । दुवै पक्षमा साझा देखिनुहुने राई उपसचिवबाट सचिवमा निर्विरोध चयन हुनुभएको हो ।

सातजना नेताको प्रतिस्पर्धा भएको उपसचिवमा राजन बञ्जरा विजयी हुनुभएको छ । एकजना खुला उपसचिवका लागि सातजना उम्मेदवारबीच भएको निर्वाचनमा विजयी बञ्जराले १४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी गीरेन्द्रबहादुर राईलउ १३५ मत प्राप्त गर्नुभएको छ ।

समावेशी उपसचिवमा कविता राई विजयी हुनुभएको छ । उहाँले ४१२ मत ल्याएर विजयी हुँदा प्रतिद्धन्द्धी भगवती प्रधानले ८० मतमात्र ल्याउनुभएको जनाइएको छ ।

आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर १३२ मतसहित विजयी हुनुभएको छ । एकजनाका लागि भएको निर्वाचनमा छ जनाको प्रतिस्पर्धा भएको थियो ।

एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ २११ मतसहित विजयी हुनुभएको छ । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो ।

दलित महिलामा रेखा रम्तेल १५० मतसहित विजयी हुनुभएको छ । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो ।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी हुनुभएको छ । चार जनाको कोटामा छ जनाको प्रतिस्पर्धा भएको थियो ।

खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी हुनुभएको छ । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।

लेखा समिति उपाध्यक्षमा निर्मला थापा (आचार्य) विजयी हुनुभएको छ । लेखा समिति उपाध्यक्षमा विजयी आचार्यले नन्दकुमार तामाङलाई १०७ मतले पछि पार्नुभएको हो ।

भूगोल अन्तरगत दुईवटा स्थानीय तहको मात्र निर्वाचन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाको लागिमात्र भूगोल अन्तरगतको निर्वाचन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा दुई महिला सदस्यका लागि निर्वाचन भएको थियो । तीनजनाको प्रतिस्पर्धा भएको निर्वाचनमा उर्मिला विश्वकर्मा, कुन्ताकुमारी बुढाथोकी र टार्मिला राई विजयी हुनुभएको छ ।

तीन सदस्यको लागि निर्वाचन भएको ऐसेलुखर्क गाउँपालिकामा कृष्णकुमार राई, टेकेन्द्र राजभण्डारी र फूलकमल राई विजयी हुनुभएको छ । चारजनाको प्रतिस्पर्धा भएको उक्त निर्वाचनमा गणेशबहादुर नेपाल पराजित हुनुभएको छ ।

भूगोल अन्तरगत अन्य स्थानीय तहमा सर्वसम्मत सदस्य चयन भएको निर्वाचन समितिले जनाएको छ । भूगोलबाट आएका जिल्ला सदस्यहरुको नामावली निर्वाचन समितिले यसअघि नै सार्वजनिक गरेको थियो ।

चैत–२८ गते एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनमा होमिएको थियो । अधिवेशनमा स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानीमन्त्री राजेन्द्र राई लगायतको उपस्थिति रहेको छ ।

अध्यक्षमा विजयी राईलाई पोलिटब्यूरो सदस्य विशाल भट्टराई लगायतको साथ रहेको थियो भने, पराजित दंगाललाई केन्द्रीय सदस्यहरु उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको थियो थियो । तीन÷तीनजना केन्द्रीय सदस्यको साथ पाएको निवर्तमान दंगालको प्यानेल (समूह) नै पराजित भएका छन् ।

निर्वाचनमा ५३९ मत खसेको जनाइएको छ । आठौँ जिल्ला अधिवेशनमा ५६६ जना प्रतिनिधि सहभागी भएको एमाले खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया