नगरले घोषणा गरेअनुसारको पुरस्कार नदिएको प्रथम प्रतियोगीको गुनासो

Halesi Khabar
7 Shares

खोटाङ, ३२ जेठ । ‘खोटाङ प्रतिभा–२०८०’ छनोटका क्रममा हलेसीमा आयोजना गरिएको पालिकास्तरीय गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका प्रतियोगीले घोषणा गरिएअनुसारको नगद पुरस्कार नपाएको गुनासो गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाको प्रायोजनमा खोटाङ कलाकार समाजले गत वैशाख–१५ र १६ गते हलेसीमा आयोजना गरेको पालिकास्तरीय छनोट प्रतियोगितामा गायनतर्फ प्रथम स्थान प्राप्त गर्नुभएका अस्विन राईले पूर्व घोषित नगद पुरस्कार नपाएको गुनासो गर्नुभएको हो ।

कार्यक्रममा नगरपालिकाका तर्फबाट गायन र नृत्यका उत्कृष्ट प्रतिभालाई जनही नगद रु ३० हजार दिने भनेर घोषणा गरिए पनि रु दश हजारमात्र दिएको राईले पत्रकार सम्मेलनमार्फत गुनासो गर्नुभएको छ । अडिसनमा उपस्थित नगर प्रमुख विमला राई र उपप्रमुख रमेश राउतले आयोजकमार्फत घोषणा गर्न लगाए अनुसारको पुरस्कार नदिएर कला र प्रतिभामाथि खेलबाड भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राईले बुधबार नेपाल पत्रकार महासङ्घको दिक्तेलस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर पुरस्कार बापत दिइएको रु दश हजार नगरपालिकाकै खातामा फिर्ता गर्ने जानकारी दिनुभएको छ । “पुरस्कार थोर भयो भन्ने होइन । नगरको जिम्मेवार पक्षबाट बोलेको कुरा पुरा भएन भन्ने हो”, राईले भन्नुभयो, “सार्वजनिक रुपमा पुरस्कार दिने घोषणा गरियो तर, भनेजति दिइएन । यसले कलाको सम्मान नभै अपमान र दुरुत्साहित गर्ने मेरो ठहर छ । आगामी दिनमा सच्याइयोस् ।”

नृत्यमा प्रथम स्थान प्राप्त गरेकी स्मृति राईले पनि नगद रु दश हजार मात्रै पाएको बताइएको छ । खोटाङ प्रतिभाकोे फाइनल अडिसन भदौ–४ गते काठमाडौँमा हुने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया