भट्टराईमा लुकेको फोटोग्राफी क्षमता !

Halesi Khabar
11.1k Shares

खोटाङ, २२ फागुन । ‘अल्लि बीचबाट खिच्नु न, सप्पै आउनेगरी !’ ‘ब्याकग्राउन्ड कस्तो आको छ ?’ ‘यता पट्टी एन्टीलाइट आउँछ, उता बसौँ ?’ एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईसँग फोटो खिच्ने धेरैले यो संवाद पक्कै सुनेकै होलान् । प्रविधिको राम्रो विकास भई नसक्दा नै स्थापित भएका धेरै नेताहरू प्रविधिको प्रयोग गर्ने कुरामा सचेत छैनन्, अझ सोसल मिडियाको प्रयोग र सोसल मिडियामा अपडेट गर्ने कन्टेन्टप्रति धेरै नेताहरू संवेदनशील बनेको देखिन्न ।

हेर्दै अप्ठेरो लाग्ने फोटोहरू अपलोड गर्ने, आँखै बिझाउनेगरी अशुद्ध स्ट्याटसहरू राख्ने, अडियन्स एक्टिभ नभएको बेला अपडेट दिने धेरै नेताहरुको बीचमा विशाल भट्टराई ‘पृथक’ छन् भन्दा फरक पर्दैन । ३० वर्ष अगाडि रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकमा फोटो पत्रकारिता पढेका भट्टराई अहिलेको नविन प्रविधिका फोनमा भएका क्यामेराको पनि राम्रो प्रयोग गर्छन् । अनेरास्ववियुमा प्रचार विभाग प्रमुख हुँदा रीलवाला विन्टेज क्यामेरा बोकेर थुप्रै फोटो खिचेको अनुभव भट्टराईसँग छ । त्यो बेलाका सयौं फोटो अहिले पनि उनीसँग सुरक्षित छन् ।

मोबाइलमा भएको क्यामेरा प्रयोग गरेको पनि १३ वर्षको अनुभव छ भट्टराईसँग । उनी रुपले भने आफैमा फोटोजेनिक छैनन् । तर गाडीमा/मोटरसाइकलमा हिँड्दा हिँड्दै कुनै राम्रो दृश्य देखिए फोन झिकेर फोटो/भिडियो खिचिहाल्छन् । ३५ हजार भन्दा धेरै फलोअर्स भएको आफ्नो फेसबुक आइडीबाट फोटोज/रिल्स अपलोड गर्छन् । भट्टराईको फोनमा अहिले पनि सोसल मिडियामा नहालेका थुप्रै आकर्षक फोटोहरू छन् ।

झपक्कै झुलेको धानखेत, कलकल बगेको खोला, उदाउँदै गरेको कलिलो सूर्य, हाँसिरहेको हिमाल, फक्रिदै गरेका कोपिला र कोपिला जस्तै केटकेटी… यस्ता अनेकन दृश्यले भट्टराईको मन खिचिहाल्छ । उनले हालेका धेरै फोटोहरू डाउनलोड गरेर धेरैले क्रेडिट दिएर या नदिई अपलोड गर्ने गरेका छ्न् । त्यसरी अपलोड गर्नेहरूमा राष्ट्रिय स्तरका मिडियाहरू, ख्यातिप्राप्त व्यक्तीहरु समेत छन् । केही समय अगाडि आफ्नो जिम्मेवारी भएको जिल्ला झापामा एउटा कार्यक्रम विशेषमा झिल पुगेको बेला भट्टराईले सुखानीका सहिदहरुको फोटो खिचे र फागुन २१ गते बिहानै योद्धाहरुलाई सम्झिएर फोटो पोस्ट गरे ।

भट्टराईले खिचेको फोटो एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत ठूलो पंक्तिले पोस्ट गर्यो । केही अगाडि बालकोटमा र बालुवाटारमा भट्टराईले खिचेको एमाले अध्यक्ष ओलीका केही तस्विरहरू सोसल मिडियामा ‘भाईरल’ नै भए । यस्ता कैयन उदाहरणहरू छन् भट्टराईकृत तस्बिरहरुको । भट्टराई विगत २५ वर्ष देखि खोटाङको राजनीतिको मियो झैं बनेर उभिएका छन् ।

चुनाव हार्दा होस् या जित्दा होस् जिल्लाभित्र भट्टराईको प्रभाव कहिल्यै घटेको छैन । सँगैका नेताहरू सोसल मीडिया प्रयोग गर्दा असावधान भएर विवादित भइरहँदा भट्टराई आफ्नो लेयरका नेताहरू मध्येमा स्मार्टमा गनिन्छन् । समय अत्यन्तै गतिशील छ, विज्ञान प्रविधिको द्रुत विकासले आँखै अगाडि संसारमा अकल्पनीय परिवर्तन भएको छ, यस्तो गतिशील समयमा नयाँ पुस्ताले पत्याउने लिडर बन्ने कुरा सबै राजनीतिकर्मीका लागि चुनौतीपूर्ण छ । भट्टराईजस्ता थोरै नेताहरूले मात्र यो चुनौती फेस गरेर जबर्जस्त स्थापित भइरहेका छन् ।

कुन दृश्यको पोट्रेट खिच्ने, कुनको ल्याण्डस्केप खिच्ने भन्ने कुराको उनलाई राम्रो ज्ञान छ, प्रविधिप्रति जिज्ञासु भट्टराई यस्तो कुरा अरूलाई पनि सिकाउँछन् । फोटोमात्र हैन, भट्टराईले फोटोमा राख्ने क्याप्सनहरू पनि कलात्मक हुन्छन् । मोबाइल किबोर्डको ‘अटोकरेक्सन’ र अन्य जटिलताले फरक पारेको बाहेक उनले राखेका क्याप्सनहरूमा शुद्धाशुद्धि राम्रो हुन्छ भने भाषाशैली पनि उत्कृष्ट हुन्छ । भट्टराईको यो क्षमताले पनि उनलाई अरू भन्दा विशिष्ट बनाउन भूमिका खेलेको छ ।

तपाईको प्रतिक्रिया