‘खोटाङ सेवा समाज बेलायत’ले खोटाङका ११ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

Halesi Khabar
35 Shares

खोटाङ, १२ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका दशवटै स्थानीय तहको ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ । खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुको संस्था खोटाङ सेवा समाज बेलायतले यही चैत–१६ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको हो ।

हरेक स्थानमा दुई÷दुई दिन सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुसहित स्वास्थ्यकर्मीद्धारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेनरामजङ राईले जानकारी दिनुभएको छ । चैत–१६ र १७ गते जिल्लाका चार स्थानमा एकैदिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने स्वास्थ्य शिविर चैत–१६ र १७ गते साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकीमा सञ्चालन हुने जनाइएको छ । हरेक स्थानमा पाँच÷पाँचजना विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीहरुले शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै शिविरमा सहभागी बिरामीलाई आवश्यक औषधि वितरण गर्ने जनाइएको छ ।

आयोजकले चैत–१७ र १८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार तथा चैत–२० र २१ गते चार ठाउँमा शिविर सञ्चालन गर्ने जनाएको छ । चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गर्ने तयारी गरिएको महासचिव राईले जानकारी दिनुभएको छ ।

चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानीय तहमा आयोजना गरिने शिविर सम्पन्न गरेपछि चैत–२४ गते दिक्तेलस्थित शुभम् फाउण्डेशनमा औपचारिकरुपमा समापन कार्यक्रम गरिने खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डाक्टर प्रमोद कोयीराईले जानकारी दिनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेशनमा आयोजना गरिने समापन कार्यक्रममा आयोजकले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’समेत वितरण गर्ने जनाएको छ । यस वर्ष संस्थाले शिक्षाविद एवम् समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

नगद रु एक लाख राशी र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु ५० हजार राशी र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिनुभएको छ । शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कवि रानोहँछालाई सम्मान एवम् पुरस्कृत गर्ने तयारी गरिएको हो ।

समाजले साहित्य, कला, सँगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्ष माथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । समाजले पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराँती र सँगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेवी एवम् समाजसेवी ईमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद् जयकुमार राई र साहित्यकार एवम् प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

रोजगारीको सिलसिलामा युकेमा बसेपनि आफूहरु खोटाङ्गे भएकाले खोटाङ्गेको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन् । जिल्लाका विसभन्न ठाउँमा स्थायी घर भइ बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुले चन्दा सङ्कलन गरेर वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया