महुरे–फोक्सिङटार सडक : बजेट हुँदा कालोपत्र भएन, अहिले बजेट नै छैन !

Halesi Khabar
280 Shares

खोटाङ, २१ चैत । आवश्यक बजेट नहुँदा जिल्लाका अधिकांश ग्रामीण सडक स्तरोन्नति गर्न सकिएको छैन । निर्माण गरेर सञ्चालनमा ल्याएको लामो समयसम्म बजेट अभावका कारण स्तरोन्नति नहुँदा जोखिम मोलेर सवारी गुडाउनुपर्ने बाध्यता छ ।

तर, दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने महुरे–फोक्सिङटार सडक बजेट भएर पनि कालोपत्र हुन सकेको छैन । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४८ किलोमिटर) सडकखण्ड दुई भागमा विभाजन गरेर कालोपत्र थालिएको थियो ।

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीसम्मको सिम्पानीभञ्ज्याङ (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको (२६ किलोमिटर) सडकखण्ड कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त दुवै सडकखण्ड अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध हुँदै आएको छ ।

भारत कन्ट्रक्सन–सिद्धी शाही जेभीले विसं २०७७ असार–२९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार–३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत उक्त सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।

भ्याट बाहेक रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको ठेकेदार कम्पनीको हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति गरेको छ । देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानीभञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागको अनुमान छ ।

भ्याट बाहेक रु ५५ करोड ८७ लाखमा वि.सं. २०७७ साउन–१० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा वि.सं. २०७३ साउन–११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक गत वर्षको चैतदेखि निर्माणको काम ठप्प छ ।

शुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नै नगरी हिँडेको स्थानीय बासिन्दाले बताएका छन् । महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको समेत आवाज उठ्ने गरेको थियो ।

महुरे–सिम्पानी (राजापानी)खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर विसं २०७६ पुस–२३ गते करिब ३० मिटर ड्रेन भत्काइ दिएका थिए । काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले वि.सं. २०७६ पुस–२० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए ।

ठेकेदार कम्पनीले महुरे–फोक्सिङटार सडकखण्डका होटल व्यवसायी तथा खुद्रा पसलका व्यापारीहरुको लाखौँ रकमसमेत तिर्न बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभएको छ । कालोपत्रको काम अलपात्र पारेर हिँडेका ठेकेदारलाई होटल तथा पसलको बक्यौता रकमका विषयमा सम्पर्क गर्न खोज्दा अहिलेसम्म फोन सम्पर्क हुन सकेको छैन ।

कालोपत्रको काम अलपत्र पार्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ पक्रिया अगाडि बढाउनका लागि नेपाल सरकार, सङ्घीय अर्थमन्त्रालयमा बजेट माग गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर सञ्जय मिश्रले बताउनुभएको छ । “नयाँ पक्रियाका लागि अहिलेसम्म अर्थमन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन । यस वर्षका लागि मर्मत गर्ने बजेटसमेत कार्यालयमा छैन”, उहाँले भन्नुभयो, “अर्थमन्त्रालयबाट नयाँ बजेटको व्यवस्था नभएसम्म कुनै काम अगाडि बढाउन सकिने अवस्था छैन । नयाँ बजेट व्यवस्था गर्नका लागि प्रयास भइरहेको छ ।”

थपिएको सम्झौता मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग गरिएका औजार लिएर ठेकेदारहरु निर्माणस्थल छाडेर हिँडेसँगै महुरे–फोक्सिङटार सडक कहिले कालोपत्र हुने अन्यौल भएको छ । ठेकेदार कम्पनीले कालोपत्र गर्न ठिक्क पारेर सडक आसपास राखेका निर्माण सामग्रीहरु अहिले छरिएर आवतजावतमै असहज भएको छ ।

बजेट उपलब्ध भएको समयमा ठेकेदार कम्पनीले काम नगरेपछि पुनः बजेटको सुनिश्चितता गर्न समस्या भएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले बताउनुभएको छ । “महुरे–फोक्सिङटार सडक जिल्लाको लाईफलाईन हो । यही सडकबाट दैनिक उपभोग्यवस्तुदेखि विकास÷निर्माणका सामग्री ढुवानी गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “बजेट उपलब्ध भएको समयमा ठेकेदारको गद्धारीका कारण कालोपत्र भएन । अहिले अर्थमन्त्रालयले बजेट छैन भन्छ । यस विषयमा मैले सदनमासमेत कुरा उठाएको छ । सम्भवत ः अर्थमन्त्रालयले यही वर्षदेखि नयाँ बजेट व्यवस्था गर्छ । अनिमात्र नयाँ प्रक्रियामा गएपछि कालोपत्रको काम हुने देखिन्छ ।”

करिब १३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडकखण्ड अन्तरगत गाईघाटबाट खोटाङको महुरेसम्म (१०१ किलोमिटर) सडक कालोपत्र गर्न सडक विभागले सात वर्षअघि रु दुई अर्ब ६८ करोड बजेट बजेट विनियोजन गरेको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक कालोपत्र नभएपछि अर्थमन्त्रालयबाट विनियोजन भएको उक्त बजेट फ्रिज भएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

बजेट उपलब्ध हुँदासमेत ठेकेदार कम्पनीलाई कालोपत्रको काम गराउन नसक्नुमा नेताहरुको हात रहेको भन्दै जिल्लावासी आक्रोशित भएका छन् । सो सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइए पनि सडक कालोपत्र नहुँद करिब छ महिना यातायात अवरुद्ध हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया