एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध, अध्यक्षसहित अन्य पदाधिकारीमा निर्वाचन

Halesi Khabar
7 Shares

खोटाङ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ । दिक्तेलस्थित माटीकारेमा जारी आठौँ जिल्ला अधिवेशन अन्तरगत बिहीबार मनोनयनका क्रममा सचिवमा राईको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

निर्धारित समयमा अन्य आकांक्षीको उम्मेदवारी नपरेपछि राई स्वतः सचिवमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका राई यसअघि एमाले खोटाङको उपसचिव हुनुहुन्थ्यो ।

वि.सं. २०५१ सालमा आरआर क्याम्पसको रात्रि सिफ्ट समिति सदस्यबाट मूलधारको राजनीति प्रवेश गर्नुभएका राईले अनेरास्ववियु खोटाङको अध्यक्ष, अखिलको तत्कालीन सगरमाथा उपाध्यक्ष, केन्द्रीय सदस्य, तत्कालीन युथफोर्सको जिल्ला अध्यक्ष, युवा सङ्घको केन्द्रीय सदस्य तथा तीन कार्यकाल एमाले खोटाङको सचिवालय सदस्य हुँदै जिल्ला सचिवमा फड्को मार्नुभएको हो ।

सरल, सहयोगी र सादगी जीवनशैलिको पहिचान बनाउनुभएका राईको उचित सम्मान र मूल्याङ्कन भएको एमालेजनमा चर्चा भइरहेको छ । अधिवेशनमा पदाधिकारी बाहेक अधिकांश सदस्यहरु पनि निर्विरोध भएका छन् ।

एमालेको जिल्ला अध्यक्षका लागि निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल र निउपाध्यक्ष देवबिक्रम राई चुनावी मैदानमा उत्रिनुभएको छ । सर्वसहमतिमा नयाँ नेतृत्वचयनका लागि भएको छलफलमा सहमति नजुट्दा दंगाल र राई आमने सामने हुनुभएको हो ।

निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार उपाध्यक्षमा निवर्तमान सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईले उम्मेदवारी दिनुभएको छ । खुलातर्फको एक जना उपसचिवका लागि आठ जनाले मनोनयन दर्ता गरेका छन् ।

उपसचिवका लागि कमल ढकाल, गीरेन्द्रबहादुर राई, गोपालचन्द्र आचार्य, गोपिकृष्ण खड्का, चक्रबहादुर राई (दिलचक्र), दिनेशकुमार राई, राजनकुमार बञ्जरा र युवराज रिजालको उम्मेदवारी परेको छ । महिला उपसचिवमा कविता राई र भगवती प्रधानको मनोनयन दर्ता भएको उम्मेदवारको प्रारम्भिक नामावलीमा उल्लेख छ ।

अधिवेशनमा ५७९ प्रतिनिधिको सहभागी रहेको एमालेले जनाएको छ । एमाले खोटाङको इतिहासमा नेतृत्व चयनका क्रममा पहिलोपटक निर्वाचन हुन लागेको हो ।

जिल्ला सचिवालय सदस्य एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई प्रस्तावक र एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यसमिति अध्यक्ष गोपालचन्द्र आचार्यको समर्थनमा दंगालले उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार राईको प्रस्तावकमा प्रकाश पौडेल र समर्थकमा अर्जुन रोका रहनुभएको छ ।

निवर्ममान अध्यक्ष दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको छ भने, वर्तमान निवर्तमान उपाध्यक्ष राईलाई पोलिटब्यूरो सदस्य विशाल भट्टराई लगायतको साथ रहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले खोटाङमा दुई धार देखिएको छ ।

तपाईको प्रतिक्रिया