पत्रकार दमन राईलाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार

Halesi Khabar
0 Shares

खोटाङ, ६ असोज । प्रेस काउन्सिल नेपालले यो वर्षको ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ खोटाङका पत्रकार दमन राईलाई प्रदान गरेको छ । मोफसमा रहेर नेपाली पत्रकारिताको माध्यमबाट राष्ट्रलाई ठूलो योगदान पु¥याएको ठहरसहित उक्त योगदानको उच्च कदर गर्दै प्रेस काउन्सिलले आफ्नो ५४ औँ वार्षिकोत्सवको अवसरमा शनिबार पत्रकार राईलाई पुरस्कार प्रदान गरको हो ।

करिब दुई दशकदेखि जिल्लामा रहेर पत्रकारितामा क्रियाशील पत्रकार राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष तथा नेपाल वाइड डटकमका समाचार सम्पादकसमेत रहनुभएका पत्रकार राईले प्राप्त गर्नुभएको यो पुरस्कार अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको हो ।

प्रेस काउन्सिलले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारको राशि रु एक लाख दश हजार रहेको छ । प्रेस काउन्सिलबाट पुरस्कृत हुनुभएका पत्रकार राईले यसअघि खोटाङ समाज नेपाल हङकङले वि.सं. २०६७ सालमा प्रदान गरेको पहिलो पत्रकारिता पुरस्कारसँगै डेढ दर्जनबढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा जन्मनुभएका पत्रकार राईले खोटाङलाई कार्यक्षेत्र बनाएर करिब दुई दशकदेखि पत्रकारिता पेशामा कलम चलाइ रहनुभएको छ । उदयपुरबाट प्रकाशित हुने पूर्णपुष्टि साप्ताहिकबाट व्यवसायिक पत्रकारिता पेशा शुरु गर्नुभएका पत्रकार राईले खोटाङमा सञ्चालित रुपाकोट सामुदायिक रेडियो, खोटाङ खबर साप्ताहिक, हिमाल खबर पत्रिका, नागरिक दैनिक, ग्यालेक्सी फोरके, न्यूज कारखाना लगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

वि.सं.२०६३ सालदेखि जिल्लामा रहेर पत्रकारिता पेशामा क्रियाशील पत्रकार राई नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको एक कार्यकाल कार्यबाहक र दुई कार्यकाल अध्यक्ष हुनुभएको थियो । खोज पत्रकारितामा समेत अब्बल रहनुभएका पत्रकार राई जिल्लामा निष्पक्ष, इमान्दार र पेशाप्रति कर्तव्यनिष्ठ मानिनुहुन्छ ।

मोफसलमा रहेर व्यसायिक पत्रकारिता गरिरहनुभएका पत्रकार राईलाई यस वर्ष प्रेस काउन्सिल नेपालले पुरस्कृत गर्ने निर्णय गरेर उचित मूल्याङ्कन गरेको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ । वि.सं. २०५९ सालमा च्यास्मिटार मावि च्यास्मिटारबाट एसएलसी उत्तीर्ण गर्नुभएका पत्रकार राई हाल दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेलमा समाजशास्त्र एमए अध्ययनरत विद्यार्थीसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया