खोटाङमा ७ हजार बढि लाभग्राहीले तेस्रो किस्ता लिए

Halesi Khabar

खोटाङ, १२ वैशाख । भूकम्पका कारण घरबारविहीन बनेका खोटाङका साढे सात हजार बढी लाभग्राहीले तेस्रो किस्ताबापतको अनुदान बुझेका छन् । पुनः निर्माणतर्फ नौँ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल्लामा सात हजार ७८३ लाभग्राहीले निजी आवास अनुदानबापत तेस्रो किस्ता बुझेका हुन् ।

भूकम्पको छैटौँ स्मृति दिवस अवसरमा राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटमा हालसम्म पुनः निर्माणतर्फ नौँ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी नौँ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुनः निर्माणतर्फ आठ हजार ८९२ लाभग्राहीले दोस्रो किस्ता बुझेको जनाइएको छ । पुनः निर्माणतर्फ नौँ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी नौँ हजार ८५३ लाभग्राहीले पहिलो किस्ता बुझेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा भूकम्पपछिको पुनः निर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ९६१ लाभग्राहीले दोस्रो किस्ता र एक हजार १०९ लाभग्राहीले तेस्रो किस्ता लिएका छैनन् । कुल लाभग्राहीमध्ये पुनः निर्माणतर्फ २४२ र प्रवलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वि.सं. २०७४ वैशाख ३ गतेदेखि सम्झौता शुरु गरेको पुनः निर्माण प्राधिकरणले १९ जेठ २०७४ देखि पहिलो किस्ता, ३० वैशाख २०७५ देखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो । किस्ता बुझेर अझै आवास निर्माणको काममा ढिलासुस्ती गर्ने लाभग्राही पनि उत्तिकै छन् ।

वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षति पुगेको तथ्याङ्क थियो । भूकम्पका कारण जिल्लामा १८ सरकारी भवनमा पूर्ण र ५५ भवनमा आंशिक क्षति पुगेको थियो ।

निजी आवास पुनः निर्माणका क्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्ताबापतको रु ५० हजार अनुदान फिर्ता गरेका छन् । यस्तै, दोहोरो भुक्तानी लिएका तीन जना लाभग्राहीले रु एक लाख ५० हजार फिर्ता गरेका छन् ।

पुनः निर्माण प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ जनाको रु ६० लाख रुपैयाँ अनुदान फिर्ता गरिएको छ । यस्तै, पुरानो प्रावधानअनुसार २० र नयाँ प्रावधानअनुसार ५२४ लाभग्राहीलाई प्रवलीकरणबाट पुनः निर्माण परिवर्तनका लागि सिफारिस गरिएको छ ।

भूमिहीन लाभग्राही पाँच जनामध्ये चार लाभग्राहीलाई जग्गा खरिदका लागि २÷२ लाख प्रदान गरिएको र जोखिम वर्गका ३९ लाभग्राहीमध्ये ३७ लाभग्राहीसँग सम्झौता भइसकेको जनाइएको छ । दिक्तेलस्थित होटल सगरमाथामा आयोजित कार्यक्रममा कन्सल्टेन्ट इन्जिनियर चञ्चलकुमार झाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदानमा कालोपत्रका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतिका विषयमा जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया