निर्वाचनको बेला नेता र मतदाता

Halesi Khabar

भीम राई

नेपाली जनतालाई यस्तो अवसर कति आए होलान जस्को कुनै लेखाजोखा छैन । लेखा राख्न पनि मन छैन । जब जब निर्वाचनको समय आउँछ त्यो बेला जनता निकै महान हुन्छन् । महान नेपाली जनताको नाममा आम राजनीतिककर्मीहरुको अपिल वर्षन्छ । मूलुक बनाउने कुराको निकै लामो व्याख्खा विश्लेषन हुने गर्दछ । तर निर्वाचन सकिन्छ । एक उम्मेदवारले निर्वाचन जित्छन् ।

निर्वाचित जनप्रतिनिधि नै सबै हुन जस्तो गरिन्छ । स्वभाविक हो चुनाव जित्नेको दायित्व सबै भन्दा बढी हुने गर्दछ । हुनुपनि पर्छ । तर चुनावमा सहभागी हुने जनताको विश्वासको मत लिने (चाहे त्यो एकै मत किन नहोस) अनि यसलाई बेवास्ता गर्न मिल्छ ? हार्ने नेताहरुको कुनै दायित्व नै हुदैन त ? निर्वाचनमा गरेको प्रतिवद्धता आफ्नो भोट बैङ्कलाई कुनै जानकारी बेगर लापत्ता हुन मिल्छ ?

अहिलेको सन्दर्भमा यो प्रश्न उठाउन एकदमै बेला आएको जस्तो लागेकाले विषयको उठान गरिएको छ । हिजो धेरैवटा निर्वाचनहरुमा सहभागी भएका हामी भुक्तभोगीहरु छौँ । निर्वाचनका बेलामा विभिन्न खाले राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ताहरु आएर हामी सँग भोट मागेका छन् । उनीहरुले आफ्ना राजनीतिक लाइनबाट मतदाताहरुलाई धेरैकुरा सुझाएका छन् । आशाहरु जगाएका छन् ।

कतिपय नेताहरुले आफू निर्वाचनमा हारेपनि जितेपनि जनताको सेवामा अहोरात्र लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तर निर्वाचनबाट जित्नेले पनि र हार्नेलेपनि जनताको काममा कति सहभागिता जनाएका होलान् कहिले हामीले यता तर्फ सोचेका छैनौँ । सत्य तितो नै सहि, जितेकाले जति गर्नुपर्ने त्यति गर्न सकेका छैनन् । जति बोलेका छन् पु¥याएका छैनन् । यो प्रश्न जित्नेहरुलाई गर्ने हो भने चुनावी घोषणा पत्रको आधारमा कति काम भयो ? यसको अवश्य उत्तर आउने छ । ‘प्रयास जारी छ ।’ तर पराजय व्यहोर्ने नेताहरुले चाँही के गर्दै होलान ?

आफूलाई निर्वाचन अगाडि मात्र निकै भयङ्कर सम्झने र निर्वाचनपछि एक पटक पनि के कसो छ भनेर नसम्झने नेताहरुको कुरा गरिसक्नु छैन । जनताको घरदैलोमा जाने भनेको निर्वाचनकै बेला न हो भन्ने मानसिकता हाम्रा राजनीतिक कर्मीहरुमा परेको छ । राजनीतिक प्रतिवद्धतालाई समेत निर्वाचनको बेलामात्र बोल्ने मन्त्र जस्ता मान्ने प्रबृत्तिका कारण पनि अहिले समस्या शुरु भएको छ ।

अर्कातिर निर्वाचन जितिजाने नेताहरुको शैली समेत आफ्नो राजनीतिक दलको समर्थनमा भएकाहरु प्रति अलि बढी र नभएकालाई अलिकम गर्ने पक्षपाती व्यवहार जस्तो देखिन प्रबृत्तिले राजनीतिमा बितृष्णा आउन पनि थालेको छ । सत्ता र शक्ति सबैका लागि बराबरी बनाउने हो भने राजनीति प्रति उत्साह भरिन सक्थ्यो तर त्यो देखिन छाडेको छ ।

यसबेला मूलुकभर एक साथ उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचन बाध्यात्मक परिस्थितीका कारण हुन लागेको हो । यस्तो बेला राजनीतिक दलहरुले आफूलाई अब्बल देखाउन प्रयत्न त गर्ने छन नै यसमा बढी आश्वासनको खेलहरु खेलिने छन् । विभिन्न बहाना बाजी लगाएर आफ्नो पकडमा मतदान गराउन प्रयास त गर्ने नै छन् । तर त्यो भन्दा बढी नेपाली उखान अनुसारको साम दाम दण्ड भेदको निति लागुन हुने खतरा छ । मतदातालाई मन जितेर भन्दा लोभ्याएर वा धम्की दिएर भोट बटुल्ने हर्कतहरु हुन सक्छन् । यस्तो बेला हो मतदाता सचेत हुने । आफूलाई मात्र होइन समग्र देश र जनता प्रति सचेत उम्मेदवार छान्ने समयलाई आम मतदाताहरुले राम्ररी बुझ्न जरुरी छ ।

माथि भनेजस्तै जित्ने नेतालेमात्र यो देश बनाउने होईन पराजय भोग्ने नेताहरुको समेत देश बनाउने जिम्मा उतिनै रहन्छ । आम मतदाताहरुको तहबाट हेर्ने हो जित्ने नेताबाट मात्र आशा पाल्ने होइन पराजित नेताहरुसँग पनि आशा पाल्नु पर्दछ । हाम्रो परिपाटी कस्तोसम्म आएको छ भने अर्काको मत सुन्दै नसुन्ने जस्तो भइसकेको छ । यस्तो बेला हामीले आफ्नो र अरुको कुरा बराबर सुन्न सक्नु पर्दछ ।

मतदाताहरु हतारमा निर्णय गर्ने र फुर्सत पछुताउने किसिमले नलाग्नु नै राम्रो हुन्छ । कसैको धाक धम्कि र प्रलोभनमा नपरी आफुले साँच्चै बिश्वास गरेको राजनीतिक दल तथा आफूलाई योग्य लागेको उम्मेदवार छान्नु आम मतदाताको मुख्य अधिकार हो । यसलाई सहि ठाउँमा सदुपयोग गर्न सके सोचे जस्तै समाजको निर्माण हुन सक्छ । यसलाई सहि ठाउँमा सदुपयोग गर्न सके साँच्चै समृद्धिको नजिक हामी पुग्न सक्छौँ ।

उपनिर्वाचनमा मतदान गर्न पाउने सबै मतदाताहरुले आफ्नो निर्णय आफै गर्ने वातावरण बनोस । निर्वाचनमा होमिएका उम्मेदवारहरुले विजय वा पराजयपछि पनि साँच्चै जनताको पक्षमा काम गर्ने गरेको प्रतिवद्धताले सार्थकता पाओस हार्दिक शुभकामना …!

लेखक :  नेकपा निकट प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया