खोटाङ, २० पुस ः आगामी माघ तेस्रो साता खोटाङमा आठौं लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको हो ।
लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यलय जालपाको सहकार्यमा माघ १८ र १९ गते उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवम् वडाध्यक्ष विकास राईले बताउनुभयो । उत्सवको पहिलो दिन लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, विभिन्न प्रजातिको चरा अवलोकन, प्रकृतिको तस्वीर खिच्ने, घिर गाडे, झुलो चक्मक् र लाथ्रो लगायत लोपोन्मुख खेल प्रदर्शनी गरिने शुक्रबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित सञ्चालन हुने उत्सवको दोस्रो दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नृत्य, स्थानीय तामाङ समुदायको डम्फु र सेलो, शेर्पाको सेब्रु, किरात राईको साकेला र मारुनी, हिन्दु महिलाको संगिनी नाच, गुरुङ जातिको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा तथा बिनायो, पीपीरी, यलम्बर, मादल, बाँसुरी लगायतका स्थानीय बाजा प्रदर्शनी गरिने छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरो सम्बन्धी जानकारी दिने सूचना, चित्र तथा फोटो, त्रिभुवन विश्वविद्यालय अन्तरगत प्राकृतिक विज्ञान संग्रहालयको लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरो समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
उत्सवको अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, निबन्ध, कथा तथा कविता प्रतियोगिता समेतको आयोजना र प्रदर्शनी गरिने जनाइएको छ । जालपास्थित वडा कार्यालय परिसरमा आयोजना गरिने उत्सवका लागि जिल्लाका विभिन्न सङ्घसंस्थामा आवद्ध व्यक्तिहरु सम्मिलित ११ वटा उपसमिति समेत गठन गरिएको छ ।
उत्सवको अवसर पारेर माघ १७ र १८ गते जालपामा निःशुल्क स्वास्थ शिविर समेत आयोजना गरिएको आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरमा दाँत र स्त्री रोग सम्बन्धी बिरामीलाई प्राथमिकता दिइने जनाइएको छ ।
धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखापछि यसवर्ष खोटाङको जालपामा उत्सव गर्ने तयारी गरिएको प्रकृतिका साथीहरु नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो । “लाटोकोसेरो तथा हुचिल किसानको साथी हो ।” उहाँले भन्नुभयो, “किसानका साथी लाटोकोसेरो तथा हुचिल पछिल्लो समय विभिन्न कारणले संकटमा पर्दै गएकाले संरक्षण गर्न उत्सवको आयोजना गरिएको हो ।”
जालपामा हुन लागेको लाटोकोसेरो तथा हुचिल उत्सव खोटाङवासीका लागि महत्वपूर्ण अवसर भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । “हाम्रो जस्तो बिकट जिल्लामा लाटोकोसेरो तथा हुचिल उत्सव हुनु जिल्लावासीका लागि महत्वपूर्ण अवसर हो ।” उहाँले भन्नुभयो, “उत्सव सफल पार्न नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुनेछ ।”
उत्सवका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रकृतिका साथीहरु, १ नम्बर प्रदेश सरकार तथा जिल्लास्थित अन्य नगर तथा गाउँपालिकाको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ । आफ्नो क्षेत्रमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएपछि मूल आयोजक समिति तथा उपसमितिले तयारीलाई तीव्रता दिएको छ ।
जालपामा माघ तेस्रो साता लाटोकोसेरो तथा हुचिल उत्सव हुने, जिल्लावासीका लागि महत्वपूर्ण अवसर
Halesi
तपाईको प्रतिक्रिया
- १. पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’
- २. शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीबिरुद्ध कारबाहीको माग
- ३. शिक्षक आन्दोलनका कारण विद्यालय बन्द हुँदा विद्यार्थी मारमा
- ४. कोशीमा सहमीयत सरकार निर्माणको प्रयास भइरहेको छ : प्रदेश सरकारका प्रवक्ता मेन्याङ्बो
- ५. कोशीका मन्त्री मेन्याङ्बोमाथि पहिचान पक्षधरद्धारा दुव्र्यवहार
- ६. संविधान दिवस २०८० : खोटाङमा भाषणको सट्टा संविधान वाचन