कोशी प्रदेशस्तरीय महिला फुटबल : ओखलढुङ्गा र ताप्लेजुङ सेमिफाइनल प्रवेश

Halesi Khabar
308 Shares

खोटाङ, २१ असार । खोटाङको बुइपमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुङ्गा र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रतियोगितामा ओखलढुङ्गाले ईलामलाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो दिन अर्थात बिहीबार भएको खेलमा ओखलढुङ्गाले सोलुखुम्बुलाई शून्यका विरुद्ध एक तथा ताप्लेजुङले धनकुटालाई शून्यका विरुद्ध एक गोलले नै पछि पार्दै क्वाटर फाईनल पुगेको थियो । पहिलो दिनकै खेलमा ईलामले उदयपुरलाई र खोटाङले सुनसरीलाई ट्राईब्रेकरमार्फत पराजित गर्दै अघि बढेको हो ।

प्रतियोगिताको दोश्रो दिन शुक्रबार नै सम्पन्न समूह चरणको खेलमा मोरङले पाचथरलाई शून्यका विरुद्ध एक तथा तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले नै पछि पार्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी भएका छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैंयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा विधागततर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न ४२ लाख रुपैंयाँ लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले बताउनुभएको छ ।

प्रतियोगिताको तेस्रो दिन भोलि (शनिबार)को पहिलो खेल भोजपुर र मोरङ तथा दोस्रो खेल झापा र तेह्रथुमबीच हुने तालिकामा उल्लेख छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो ।

प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ ।

प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई समेत आर्थिक सहयोग माग गरिएको आयोजकले जनाएको छ । चन्दा सङ्कलन तथा दाताको सहयोगमा विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएको जिल्लामा पहिलो पटक प्रदेश खेलकुद विकास बोर्डको लगानीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको छ । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

तपाईको प्रतिक्रिया