चार दिनमा दिक्तेल–दुम्ली सडक ढलान सम्पन्न गर्ने ठेकेदारको प्रतिवद्धता

Halesi Khabar
133 Shares

खोटाङ, २१ असार । दिक्तेल–दुम्ली सडक ढलानको काम चार दिनभित्रमा सम्पन्न गर्ने ठेकेदार कम्पनीले लिखित प्रतिवद्धता जनाएका छन् । सुस्तगतिमा ढलानको काम भइरहेको दिक्तेल–दुम्ली सडक (१७३ घनमिटर) यही असार–२५ गतेभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनी नायक कन्ट्रक्शन प्रा.लि. धनुषाले लिखित प्रतिवद्धता जनाएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको भ्याटसहित रु ५५ लाख छ हजार ९७९ लागतमा वि.सं. २०८० चैत–२० गते सम्झौता गरेर दिक्तेल–दुम्ली सडक ढलानको काम शुरु गरिएको थियो । वि.सं. २०८१ असार–१५ गतेभित्र सम्पन्न गर्नुपर्ने सडक ढलानको काममा ढिलासुस्ती भएपछि आज (शुक्रबार) आयोजनाको कार्यालयले ठेकेदार कम्पनीलाई लिखित प्रतिवद्धता गराएको हो ।

ठेकेदार कम्पनीले प्रतिवद्धता जनाए पनि काम सक्ने सम्भावना नरहेको स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यसमितिका अध्यक्ष गोपाल आचार्यले बताउनुभयो । “सडक ढलानको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ । अहिले दुई÷चारजना कामदारमात्र ढलानको काममा खटिएका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयमा सम्पन्न हो भनेर कामदार खोजेर पु¥याइ दिएको थिएँ । उनीहरुलाई ठेकेदारले फर्काइ दिएछ ! यही अवस्था कायम रहने हो भने कुनै पनि हालतमा सम्पन्न हुँदैन ।”

निर्माणाधीन सडकको काम करिब ७० प्रतिशत सम्पन्न भएको निर्माणस्थलमा खटिनुभएका आयोजना कार्यालयका इन्जिनियर विनोदकुमार मण्डलले जानकारी दिनुभयो । “दिक्तेल–दुम्ली सडक ढलानको काम सम्झौता अनुसार गत असार–१५ गते अगावै सम्पन्न गर्नुपर्ने थियो । अहिले पनि निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “ठेक्का तोडेर पुनः सम्झौता गर्नुभन्दा तोकिएको मितिभन्दा केही दिनपछि भएपनि सम्पन्न गराउने प्रयास भएको छ । निर्माणाधीन सडकका लागि ठेकेदार कम्पनीले सबै सामग्री ल्याएका छन् । सरासर काम गर्ने हो भने बाँकी चार दिनको समयमा सम्पन्न हुन्छ ।”

सडक ढलानको काममा ठेकेदार कम्पनीको लापरबाही भएको गुनासो आएपछि सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका निमित्त आयोजना प्रमुख विनोदकुमार यादवको टोली स्थलगत अध्ययनका लागि दिक्तेल आएको थियो । अनुगमन टोलीसमक्ष ठेकेदार कम्पनीका प्रतिनिधि सतेन्द्रकुमार नायकले चार दिनभित्र बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लिखित प्रतिवद्धता जनाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईको उपस्थितिमा भएको छलफलमा प्रतिवद्धता गरेको मितिमा तोकिएको काम सम्पन्न नभएमा आयोजनाको कार्यालयले भुक्तानीको काम नगर्ने सहमति भएको छ । त्रिपक्षीय छलफलमा स्थानीय बासिन्दा र पत्रकारको समेत उपस्थिति रहेको थियो ।

पन्ध्र वर्षअघि वि.सं. २०६५ सालमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उपलब्ध गराएको रु ४० लाख बजेटबाट ट्र्याक खोलिएको दिक्तेल–दुम्ली सडक ढलानको काम समयमा सम्पन्न नहुँदा स्थानीय बासिन्दा आक्रोशित छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दुम्ली हुँदै रतन्छाबाट छिमेकी जिल्ला भोजपुरको पाँचधारे जोड्ने सडक दिक्तेलस्थित हरि आचार्यको घरदेखि जिल्ला आयुर्वेद कार्यालयसम्म ढलानको काम शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया