प्रविधिको विकासलाई उपयोगमा ल्याउन मोबाइल पत्रकारिता तालिम

Halesi Khabar
56 Shares

खोटाङ, १५ असार । घरेलु तथा साना उद्योग कार्यालय खोटाङले जिल्लामा क्रियाशील सञ्चारकर्मी तथा अन्यलाई मोबाइल पत्रकारिता सम्बन्धी तीन दिने तालिम उपलब्ध गराएको छ । डिजिटल प्रविधिको बढ्दो विकासलाई उपयोग गर्दै छिटो, भरपर्दो र प्रभावकारी समाचार सम्प्रेषण गर्न÷गराउन तालिमको आयोजना गरिएको हो ।

रेडियो खोटाङसँगको समन्वयमा यही असार–१३ गतेदेखि १५ गतेसम्म आयोजना गरिएको तालिममा सञ्चारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायी लगायत २० जना सहभागी रहेका थिए । जिल्लामा पहिलो पटक आयोजना गरिएको मोबाइल पत्रकारिता तालिमको सहजीकरण जिल्लामा क्रियाशील पत्रकारहरुले गरेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालयले जिल्लामा पहिलो पटक पत्रकारहरुका लागि उपलब्ध गराएको तालिम प्रभावकारी भएको कार्यालय प्रमुख भेषराज खत्रीले बताउनुभयो । “हाम्रो कार्यालयले अहिलेसम्म पत्रकारहरुका लागि तालिम दिएको थिएन । यो नयाँ अनुभव हो । तर, प्रभावकारी भएको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि थप एड्भान्स किसिमको तालिमहरु आयोजना गर्ने योजना बनाएका र्छौँ । तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न कार्यालयको तर्फबाट अनुरोध पनि छ ।”

तीन दिने तामिमा सहभागीलाई आधारभूत पत्रकारिता तालिमसँगै भिडियो तथा अडियो रेकर्डिङ, सम्पादन र प्रशारणका बारेमा सहजीकरण गरिएको प्रमुख प्रशिक्षक भीम राईले जानकारी दिनुभयो । तालिममा सहभागीले जिल्लामा पहिलो पटक आयोजना गरिएको मोबाइल पत्रकारिता तालिम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

तालिम सामापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पत्रकारहरु समयानुकूल परिकृत हुँदै जानुपर्नेमा जोड दिनुभएको छ । “मुलुकमा बढ्दो प्रविधिको विकासले पत्रकारितामा चुनौतिसँगै सम्भवनाहरु थपिएका छन् । प्रविधिलाई उपयोग गर्न सकेको खण्डमा राम्रो कमाइ पनि हुने रहेछ”, उहाँले भन्नुभयो, “सञ्चार कर्ममा लागेकाहरुले यसलाई उपयोगमा ल्याउनुप¥यो । यसमा हामीले गर्न सक्ने सहयोग उपलब्ध गराउँछौँ ।”

विशेष अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको तालिम समयानुकूल भएको प्रतिक्रिया दिनुभएको छ । “पत्रकारहरु हरेक क्षेत्रमा पोख्त हुनुपर्छ । प्रविधिसँग खेल्न नसकिएको खण्डमा जनचाहना अनुसारका सामग्री उत्पादन तथा प्रशारण गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “घरेलु तथा साना उद्योग कार्यालयले समयानुकूलका तालिम उपलब्ध गराएको छ । तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीको दायित्व हो । यसले सहभागी तथा स्रोता, दर्शक र पाठक दुवैलाई फाइदा गर्छ ।”

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित तालिममा सहभागीलाई सहभागिताको प्रमाणपत्रसमेत उपलब्ध गराइएको तीन दिने तालिमको समन्वयकारी भूमिकामा रहेको रेडियो खोटाङका अध्यक्ष खिलन राईले जानकारी दिनुभयो । सहभागीलाई समापन कार्यक्रमका प्रमुख अतिथि राईले प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय खोटाङले यसअघि फोटो तथा डिभियोग्राफी सम्बन्धी दश दिने तालिम उपलब्ध गराएको थियो । हिमालयन आइटी इन्स्टीच्युट दिक्तेलसँगको सहकार्यमा आयोजित तालिमको सहजीकरण एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डङ्गोलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया