कष्टपूर्ण जीवन बिताइरहेका दुई सडक मानवको प्रहरीद्धारा उद्धार

Halesi Khabar
546 Shares

खोटाङ, २१ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुई सडक मानवको उद्धार गरेको छ । शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडक पेटीहरुमा कष्टपूर्ण जीवन बिताइरहेका एक महिला र एक पुरुषलाई प्रहरीले उद्धार गरेर मानव सेवा आश्रम विराटनगर पठाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत उनीहरुलाई बिहीबार साँझ मानव सेवा आश्रम पठाइएको छ । केही वर्षदेखि दिक्तेल बजारको विभिन्न व्यक्तिको घर तथा सडक पेटीहरुमा देखिने तराई मूलका एक पुरुष शारीरिक एवम् मानसिक समस्यामा थिए ।

अन्दाजी ३०÷३५ वर्षका ती पुरुष स्थानीय बासिन्दाले दिएको खानेकुरा खाएर खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका थिए । ती पुरुषलाई प्रहरीले उद्धार गरी सरसफाइ गर्नुका साथै लुगा लगाइदिएर एम्बुलेन्समार्फत मानव सेवा आश्रम लगेको हो ।

बोल्नसमेत नसक्ने अवस्थाका भएका कारण उनको नाम थर एवम् ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ शङ्खु घर र हस्तकला राई नाम बताउने अन्दाजी ४५÷४६ वर्षकी मानसिक समस्याकी महिला पनि सोही एम्बुलेन्समा राखेर पठाइएको छ ।

ती महिलाले पनि केही वर्षदेखि दिक्तेल बजारमा खुला आकाशमुनि जीवन बिताइरहेकी थिइन् । कष्टपूर्ण जीवन बिताइरहेका दुई सडक मानवको औषधि उपचार एवम् पुनः स्थापनाका लागि उद्धार गरेर मानव सेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।

उनीहरुको सहज जीवन यापनसँगै खोटाङ जिल्लालाई सडक मानव मुक्त बनाउने अभियान स्वरुप त्यस्ता ब्यक्तिहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई मानव सेवा आश्रम विराटनगर पु¥याउन प्रहरीसमेत गाएका छन् ।

बेसहारा बनेका व्यक्तिको जीवनयापन तथा सडक मानव मुक्त बनाउन नगरपालिकाले प्रहरीसँगको सहकार्यमा कार्यक्रम शुरु गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले यसअघि मानसिक समस्यामा परेकी वडा नं. १३ नुनथलाकी एक महिलाको निःशुल्क उपचार गरिदिएको थियो ।

उपचार अभावमा खोरमा थुनेर राखिएकी ती महिलालाई उद्धार गरेर ललितपुरस्थित मानसिक अस्पताल लगेर निःशुल्क उपचार गराइएको थियो । लामो समयदेखि मानसिक समस्या खेप्दै आएकी महिलाको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार भइरहेको उनका आफन्तहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया