पत्रकारलाई प्रविधिमा पोख्त बनाउन फोटो तथा भिडियोग्राफी तालिम

Halesi Khabar
56 Shares

खोटाङ, ५ जेठ । जिल्लाका पत्रकारलाई प्रविधिमा पोख्त बनाउन फोटो तथा भिडियोग्राफी सम्बन्धी दश दिने आधारभूत एवम् क्षमता विकास तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग एवम् एभरेष्ट फिल्म एकेडेमी काठमाडौँको प्राविधिक सहयोगमा हिमालय आईटी इन्स्टिच्युट दिक्तेल खोटाङले दश दिने फोटो तथा भिडियोग्राफी तालिमको आयोजना गरेको हो ।

बढ्डो प्रविधिको विकाससँगै पत्रकार तथा फोटो स्टुडियो व्यवसायीलाई समयअनुकुल पोख्त तथा आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिमको आयोजना गरिएको आयोजक हिमालय आईटी इन्स्टिच्युटका सञ्चालक अजय बस्नेतले बताउनुभएको छ । “जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ । हामीले जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यवसायिक काम गर्ने वातावरण सिर्जना गर्न बिगत चार वर्षदेखि विभिन्न क्षेत्रमा तालिम दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “यस पटक पत्रकार र फोटो स्टुडियो व्यवसायीका लागि फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत एवम् क्षमता विकास तालिमको आयोजना गरिएको छ । यसले फोटो तथा भिडियोग्राफीमै भविश्य खोज्नेहरुको लागि थोरै भएपनि सहयोग पुग्नेछ ।”

फोटो तथा भिडियोग्राफी सम्बन्धी दश दिने आधारभूत तथा क्षमता विकास तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायीगरी २५ जनाको सहभागिता रहेको छ । दिक्तेलस्थित इन्स्टिच्युटको आफ्नै कार्यालयमा आयोजना गरिएको तालिममा एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डङ्गोलले सहजीकरण गरिरहनुभएको छ ।

तालिमको औपचारिक उद्घाटन शनिबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष सुनिल थापाले पानसमा बत्ती बालेर संयुक्तरुपमा गर्नुभएको छ । तालिम उद्घाटन कार्यक्रमका वक्ताहरुले जिल्लामा पहिलो पटक आयोजना गरिएको फोटो तथा भिडियोग्राफी सम्बन्धीको दश दिने आधारभूत तथा क्षमता विकास तालिम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एकेडेमीका अध्यक्ष एवम् कलाकार थापाले तालिममा सहभागीमध्ये उत्कृष्ट एकजनालाई एकेडेमीमा निःशुल्क एड्भान्स् किसिमको तालिम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसका लागि नगरपालिकाको सिफारिस अनिवार्य लिएको हुनुपर्ने अध्यक्ष थापाले बताउनुभएको छ ।

एक अर्को प्रशङ्गमा कलाकार थापाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको बाँसको सामग्री प्रयोग तथा उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “नगरपालिकाले आफ्नै उत्पादनमा आत्मनिर्भर हुने नीति लिएको रहेछ ! यो आफैमा मत्वपूर्ण कार्यक्रम हो । यसले यहाँका स्थानीय बासिन्दाको आर्थिकस्तर वृद्धिमा समेत सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको यो कार्यक्रमलाई म सहयोग गर्न तयारी छ । कलाकारिताको क्षेत्रबाट म नगरपालिका दूत बनेर सहयोग गर्छु ।”

कलाकार थापाले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने बताउनुभएको छ । आफूले निर्माण गर्ने चलचित्र तथा आफूसँग जोडिएर निर्माण हुने चलचित्रको केही भागको छायाङ्कन खोटाङका पर्यटकीयस्थलहरुमा आएर गर्ने÷गराउने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया