निर्माणाधीन कार्यालय भवन गाउँपालिका प्रमुखले भत्काएपछि… (भिडियो सहित)

Halesi

खोटाङ, १९ पुस ः रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहिन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौलाले भत्काउनुभएको छ । तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रा.लि.ले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहिन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काउनुभएको हो ।
भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुसी गुणस्तरहिन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताउनुभयो । “हामीले भवन निर्माणमा गुणस्तर निर्धारण गर्न र समयमा सम्पन्न गर्न ठेकेदारलाई पटक–पटक आग्रह ग¥यौं ।” उहाँले भन्नुभयो, “हामीले गरेको आग्रहलाई ठेकेदारले अटेर गर्दै गुणस्तरहिन बनाएपछि सोही खर्चमा पुनः निर्माण गर्न लगाउन भत्काइएको हो ।”

प्रमुख निरौलाले भवनको भित्री भागको भुँइमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टर लगायत भत्काइ दिनुभएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भत्काएर पुनः निर्माण गर्न आग्रह गर्नुभएको छ ।
भवनको भुँइतलामा ढुङ्गा बिच्छ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताउनुभयो । भुँइमा बिच्छ्याइएको ढुङ्गामाथि चार इन्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इन्च मात्र गरिएको र ढलानको सामग्री समेत गुणस्तरहिन भएको पाइएको प्राविधिकले जनाएको छ ।
गाउँपालिका प्रमुखले निर्माणाधीन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनः निर्माणको काम थालेको स्थानीयबासीले बताएका छन् । ठेकेदारले पुनः निर्माणको काम शुरु गरेपनि उक्त भवन गुणस्तरहिन नै हुने स्रोतको दाबी छ ।
निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले केही कमजोरी भएको निर्माणको काम जिम्मा लिएको कम्पनीका उमेश राईले स्वीकार्नुभएको छ । “हतारमा काम गर्दा केही कमजोरी भएकै हो ।” उहाँले भन्नुभयो, “गाउँपालिकाको खबरदारीपछि पुनः भत्काएर गुणस्तर निर्धारण गर्ने काम भइरहेको छ ।”
निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रो पटक थपिएको अवधि समेत गत मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले रु. ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एक तले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन ।

इटाको गाह्रो लगाएर कोठा छुट्याइने कार्यालय भवनमा आल्मोनियम जडान गरेपछि १४ कोठा हुने जनाइएको छ । एउटा दुई कोठे सौचालयसहित भवनको सम्पूर्ण काम सम्पन्न गर्दा ठेकेदारलाई घाटा हुने स्थानीयले बताएका छन् ।
प्राविधिक मुल्याङ्कन भन्दा कम लागतमा निर्माण कार्य थालिएको भवनका लागि गाउँपालिकाले रु. एक करोड, तीन लाखमा टेण्डर आव्हान गरेको थियो । ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रा.लि.ले घटाघटमा उक्त भवन निर्माणको सम्पूर्ण जिम्मा लिएको गाउँपालिकाले जनाएको छ ।
रावाबेँसीसँगै निर्माण कार्य थालिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको भवन पाँच महिना अघिनै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । दिप्रुङ चुईचुम्मा बाहेक जिल्लाका अधिकांश गाउँपालिका अहिलेसम्म पनि भाडाकै भवनमा रहेको छ ।

तपाईको प्रतिक्रिया