काठमाडौं । प्रतिनिधीसभा सदस्य विशाल भट्टराईको पहलमा खोटाङ जिल्लाको चिसापानी बजारमा १५ शैय्याको अस्पताल निर्माण गर्ने सरकारले निर्णय गरेको छ ।
दुई दशकदेखि प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आए पनि न राम्रो उपचार थियो , न स्वास्थ्य केन्द्रमा डाक्टर नै बस्थे । संविधानसभाको दोस्रो निर्वाचनमा विजयी भएपछि सांसद भट्टराईको ध्यान चिसापानीबजारमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने तर्फ गएको थियो । अल्पमतको अस्थिर सरकारको बाबजुत पनि उनले पटक पटक मन्त्रालय धाए, तर उनको काम तत्कालिन सरकारको नजरमा परेन । तर उनले मन्त्रालय धाउन छोडेनन्, अन्ततः आफ्नै पार्टीको दुईतिहाई सरकारले उनको सपना पूरा गरिदियो ।जिल्लाको दक्षिणी भेगको महत्वपूर्ण ठाउँको रुपमा चिसापानी बजारलाई हेरिन्छ । राज्यको पुनर्संरचनाको बहस जिल्लामा चर्कोगरी हुदैगर्दा जन्तेढुङाको केन्द्र कहाँ हुने भनेर कहिल्यै कसैले विवाद निकालेनन् रु सबैले सर्वसम्मत चिसापानी भनेर भने । यहि एकताका कारण पनि सांसद भट्टराईलाई यस क्षेत्रको विकासका लागि नैतिक बन्धनमा पार्यो ।
राम्रो स्वास्थ्य उपचार समेत नपाएका यस क्षेत्रका स्थानीयको लागि सांसद भट्टराईले ऋण खोजेरै भएपनि डाक्टरको व्यवस्था गर्ने सोचेका थिए । ‘जनताको उपचार त भएन भएन, भवितव्यमा परेको लाश बोकेर नाकमा तितेपातिको मुन्टा घुसारेर कहिले गाइघाट, कहिले दिक्तेल हिडेको पिडा मेरो मनमा अमिट बनेर बसेको छ,’ सांसद भट्टराईले भने, ‘तर म सफल भए, डाक्टर खटिनुभो, डाक्टर बस्नुभो, आफैले बजेट दिएर पोस्टमार्टम घर बनाउन लगाए । त्यसपछि कसैले कुहिएको लाश बोकेर हिड्नुपरेको छैन ।’
१५ शैय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि स्थानीय बासिन्दा र गाउँपालिकाका जनप्रतिनिधीलाई जग्गाको व्यवस्था गर्न भट्टराईले यथासिघ्र लागिपर्न आग्रह गरेका छन् ।