हत्यारा पक्रन सफल प्रहरीलाई मृतकका आफन्तद्धारा सम्मान

Halesi Khabar

खोटाङ, २३ असार । हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीय तुलसा खड्काको हत्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्दै मृतकका आफन्तले प्रहरीलाई सम्मान गरेका हुन् ।

जाहेरी परेको २१ दिनमा हत्यारालाई पक्रन सफल प्रहरीलाई मृतककी भतिजी लक्ष्मी सापकोटाले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको छ । नेपालमा घटेका कतिपय घटनामा संलग्न दोषी पत्ता नलागिरहेको अवस्थामा खोटाङ प्रहरीले चाडै अपराधि पक्राउ गरेर मृतकको आत्मालाई शान्ति हुने काम गरेकाले हौसलास्वरुप सम्मान गरिएको सापकोटाले बताउनुभयो ।

मृतकका आफन्तले प्रदान गरेको सम्मानपत्र ग्रहण गर्नुहुँदै प्रनाउ लम्सालले नागरिक र प्रहरीको राम्रो समझदारी हुने हो भने समाजमा हुने गरेका हरेक घटनाका दोषी चाडै पत्ता लाग्ने बताउनुभयो । उक्त घटनामा पनि नागरिकको राम्रो साथ मिलेका कारण दोषीलाई चाडै कानूनी कठघरामा ल्याउन प्रहरी सफल भएको उहाँको भनाइ छ ।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातिले हजुरआमालाई साथमा लिएर सुनसरीबाट वैशाख २६ गते खोटाङतर्फ हिँडेका थिए । तर, नातिसँगै हिँड्नुभएकी तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोशी नदीको बगरमा खाल्डोभित्र शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

घटना पश्चात फरार रहेका नाति नीरकुमारलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपालभारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका नीरकुमारलाई प्रहरीले यही असार ९ गते दिक्तेलस्थित कार्यालयमा ल्याएर सार्वजनिक गरेको थियो ।

हजुरआमाको हत्या गरेको भन्दै नीरकुमारबिरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको थियो । पक्राउ परेका कारण नीरकुमारले हजुरआमाको हत्या पारिवारिक विवादका कारण गरेको बताएपछि उनलाई कानूनी कारवाही शुरु गरिएको प्रनाउ लम्सालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया