सहकारीले वितरण ग¥यो किसानलाई फलफूलको बेर्ना

Halesi Khabar

खोटाङ, १७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले बुइपाका ८५० जना किसानलाई फलफूलको बेर्ना निःशुल्क वितरण गरेको छ । वडालाई फलफूलको उत्पादन क्षेत्र बनाउने लक्ष्यकासाथ सहकारी संस्थामा आवद्ध ५०० सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकार्डोको बिरुवा वितरण गरेको हो ।

डिभिजन वन कार्यालय खोटाङ र भू तथा जलाधार कार्यालय ओखलढुङ्गाले फलफूलका बेर्ना उपलब्ध गराएपछि किसानलाई वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष मिलन राईले बताउनुभयो । सहकारीको समन्वयमा किसानलाई सुन कागतीको तीन हजार ५०० बोट, अम्रपाली जातको आँपको ५०० बोट, लिचीको ३५० बोट र एभोकार्डोको २५० बोट बिरुवा बाँडिएको हो ।

फलफूललाई किसानको आम्दानीको श्रोतकारुपमा विकास गर्ने लक्ष्यकासाथ बेर्ना वितरण गरिएको सहकारीले जनाएको छ । भूगोल र हावापानी अनुसार स्थानीय बासिन्दालाई लिची, आँप, कागती र एभोकार्डोको बिरुवा वितरण गरिएको छ ।

बुइपाको बेँसी क्षेत्रका किसानलाई लिची, आँप र कागतीका बिरुवा बढी मात्रामा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट बुइपामा कोल्डस्टोर निर्माण गरिएसँगै सहकारी फलफूल खेती प्रवद्र्धनमा लागेको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु ५० लाख बजेटमा निर्माण गरिएको कोल्डस्टोरलाई सदुपयोग गर्दै किसानको आर्थिक समृद्धिका लागि गाउँमा लिची, आँप, कागती, एभोकार्डो लगायतका फलफुल खेती विस्तार गरिएको जनाइएको छ । बुइपामा कोल्डस्टोर निर्माण भएपछि कागती, नासपाती, करेला, आलु, फर्सी जस्ता फलफुल तथा तरकारीलाई लामो समयसम्म स्टोर गर्न सकिने वातावरण बनेको छ ।

तपाईको प्रतिक्रिया