भोजपुर। सदरमुकामका बजार पसलबाट रु एक लाख बराबरको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइमा खाद्य सामग्री र पेय पदार्थ गरी रु ९७ हजार १७७ को सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।
होटल, थोक तथा किराना पसलबाट ठूलो परिमाणमा बिस्कुट, पेय पदार्थलगायतका सामग्री नष्ट गरिएको हो । अनुगमन टोलीले सबैभन्दा बढी प्रधान होटल, सजिना किराना पसल, केएफसी होटल, उषा होटल एण्ड लज, सुम्निमा गेष्टहाउस, विनिता होटल, शेर्पा स्टोर्सलगायतका पसलबाट म्याद गुज्रिएका पेय पदार्थ र खाद्यान्नका सामग्री फेला पारेको हो ।
टोलीले जिल्ला अस्पताल छेउका पसलदेखि चार भञ्ज्याङसम्मका २९ पसलको अनुगमन गरेको थियो । पछिल्लो समयमा प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिन थालेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका पसल तथा होटलका सञ्चालकलाई अर्को अनुगमनमा पनि यस्ता सामग्री भेटिएमा कारवाही गरिने सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।