पोखरा विश्वविद्यालयको मानवशास्त्रमा किराती मुन्दुम पढाइ शुरु

Halesi
0 Shares

खोटाङ ६ फागुन । पोखरा विश्वविद्यालय अन्तरगत एमफिल अङ्ग्रेजी विभागको मानवशास्त्रमा मुन्दुम विषय पढाइ शुरु गरिएको छ । मानवशास्त्र विषयमा विदेशी मानवशास्त्रीले अध्ययन गरेर लेखेका पुस्तक मात्र अध्ययन अध्यापन हुने पोखरा विश्वविद्यालयले मुन्दुम अध्येता भोगीराज चाम्लिङको संकलन र सम्पादन रहेको श्रृष्टिकथा ‘मुन्दुमः भाग–१ लाई आफ्नो पाठ्यक्रममा समावेश गरेको हो ।
पोखरा विश्वविद्यालयको आग्रहमा एमफिल अङ्ग्रेजी मानवशास्त्रको कोर्स डिजाईन गर्नेक्रममा मुन्दुमलाई कन्टेन्ट र टेक्स्टबुक सहित रेफर गर्दा स्वीकृत भएर पढाइ शुरु भएको डा. विष्णु राईले बताउनुभयो । पोखरा विश्वविद्यालयले एमफिल अंग्रेजी विभागको मानवशास्त्रको दोस्रो सेमेष्टरमा मुन्दुमलाई समावेश गरेको हो ।
मुन्दुम समावेश एमफिल अंग्रेजी विभागको मानवशास्त्रको दोस्रो सेमेष्टरको कक्षा हप्ता दिन अघिदेखि काठमाडौंको बानेश्वरमा शुरु भइसकेको डा.राईले बताउनुभयो । मुन्दुमलाई किरातीको सभ्यता, इतिहास, प्रागइतिहास, दार्शनिक दृष्टिकोण, साँस्कृतिक पक्ष लगायतको अध्ययनको प्रमुख आधार मानिन्छ ।
विदेशी मानवशास्त्रीले तयार पारेको पुस्तकभन्दा नेपाली अध्येताले अनुसन्धान गरेको मानवशास्त्र अध्ययन गर्न सहज हुने भएकाले पनि मुन्दुमलाई पाठ्याक्रममा समावेश गरिएको डा.राईको भनाइ छ । खोटाङका मुन्दुम अध्येता चाम्लिङले संकलन र सम्पादन गरेको मुन्दुम २०७१ सालमा किरात राई चाम्लिङ खाम्वातिम केन्द्रीय समितिले २०७१ सालमा प्रकाशन गरेको हो ।
खाम्वातिमले गठन गरेको किरात मुन्दुम (दर्शन) अनुसन्धान तथा अभिलेखीकरण समितिको पहलमा खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका धामी शिवराज राईलाई श्रोत व्यक्ति बनाएर श्रृष्टि कथा ‘मुन्दुमः भाग–१’ तयार पारिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया