खोटाङ, ६ फागुन । आफ्नो वंशावली तयार भएको अवसर पारेर देशविदेशमा छरिएर रहेका चाम्लिङ राई (राखमीहँछा)ले एकै स्थानमा जमघट भएर खुशियाली मनाएका छन् । लामो समयदेखि वंशावली खोज तथा निर्माण कार्यमा जुटेको किरात राई चाम्लिङ (राखमीहँछा) वंशावली प्रकाशन समितिले खोटाङको नुनथलामा आफ्नो वंशावली लोकार्पण गर्दै खुशियाली मनाएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लालाई ऐतिहासिक तथा उद्गम थलो मान्ने राखमीहँछा पाछाका चाम्लिङ राईले २०४० सालदेखि लिखित दस्तावेज संकलन गर्दै २०६९ साल भदौ ८ देखि औपचारिक रुपमा वंशावली खोज तथा निर्माण कार्य शुरु गरेको थियो । लामो समयको मेहेनतपछि निर्माण तथा प्रकाशन गरेको वंशावलीलाई विशेष कार्यक्रमबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणदेवी राई लगायतले लोकार्पण गर्नुभयो ।
नुनथलामा आयोजित लोकार्पण कार्यक्रममा हङकङ, बेलायत, भारत तथा देशका विभिन्न जिल्लामा रहेका राखमीहँछा पाछा सामेल भएको गीतकार तथा साहित्यकार टीका चाम्लिङले बताउनुभयो । लोकार्पण तथा खुशियाली मनाउने कार्यक्रममा भारतको नक्सलबारी, दाराबु, सिक्किम तथा कैलालीको धनगढी, मोरङ, सुनसरी, संखुवासभा, झापा, उदयपुर लगायतबाट राखमीहँछा पाछाका चाम्लिङ राईहरु सहभागी बनेका थिए ।
लोकापर्ण कार्यक्रममा करीब ४०० वर्ष अघि नै आफ्ना पुर्खाले छाडेको भूमिमा रहेको वंशलाई भेट्न पाउँदा खुशी लागेको जिल्ला बाहिरका सहभागीले प्रतिक्रिया दिए । शुरुमा स्थानीय रोजबहादुर राईको सक्रियतामा चासो दिन थालिएको वंशावली निर्माण कार्यलाई औपचारिक रुपमा भने बेलायतलाई कर्मथलो बनाउनुभएको नुनथला, खाम्लाकै चन्द्रबहादुर राईको नेतृत्वमा अगाडी बढाइएको थियो ।
प्रकाशित राखमीहँछा पाछाको वंशावलीमा करीब ५०० वर्षको इतिहास भेटिएको छ । वंशावली खोज तथा प्रकाशनले करीब साँढे ४०० वर्ष अघि छुटेका वंशहरुको पूर्नमिलन भएको वडाध्यक्ष समेत रहनुभएको सोही वंशका भीम राईले बताउनुभयो ।
कार्यक्रममा वंशावली निर्माण अभियन्ता, देशविदेशमा रहेका वंशका विशिष्ट व्यक्ति, नुनथलावासी अग्रज तथा स्थानीय, वंशका छोरीचेली लगायतको जमघट थियो । हतलुङ नामको पुर्खा नै आफ्नो वंशको पहिलो सन्तान मान्ने उक्त पाछाको वंशावलीमा करीब साँढे तीन हजार सन्तानको नाम उल्लेख छ ।
चाम्लिङभाषी किरात राईको मौलिक परम्परा अनुसार आयोजना गरिएको कार्यक्रममा साकेला सिली प्रर्दशनी समेत गरिएको थियो । कार्यक्रमका अतिथिहरुलाई किरात राईहरुकै संस्कृति अनुसार स्वागत गरिएको थियो ।
राई समुदायको संस्कृतिसँग जोडिएको विशेष प्रकृतिको सुगन्ध दिने वनस्पति लिम्चिङवुङ सहितको गुच्छा तथा मर्चुंगा, बिनायो, ढोल, झ्याम्टा अंकित खदा तथा गम्छाले अतिथिलाई स्वागत गरिएको थियो । वंशावली निर्माण समितिले लोकार्पणकै दिन पाँच जना व्यक्तिलाई सम्मान गरेको छ ।
कार्यक्रममा साकेला सिली प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रमकै अवसरमा उक्त पाछाको ऐतिहासिक तथा उद्गम थलोमा वृक्षरोपण समेत गरिएको छ ।
चाम्लिङ राई (राखमीहँछा)को वंशावली सार्वजनिक
Halesi
तपाईको प्रतिक्रिया
- १. पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’
- २. शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीबिरुद्ध कारबाहीको माग
- ३. शिक्षक आन्दोलनका कारण विद्यालय बन्द हुँदा विद्यार्थी मारमा
- ४. कोशीमा सहमीयत सरकार निर्माणको प्रयास भइरहेको छ : प्रदेश सरकारका प्रवक्ता मेन्याङ्बो
- ५. कोशीका मन्त्री मेन्याङ्बोमाथि पहिचान पक्षधरद्धारा दुव्र्यवहार
- ६. संविधान दिवस २०८० : खोटाङमा भाषणको सट्टा संविधान वाचन