विजयखर्कमा निर्माणाधीन एकीकृत बस्तीको काम तीव्रगतिमा

Halesi

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा निर्माणाधीन एकीकृत नमूना बस्तीको काम तीव्रगतिमा अघि बढेको छ । स्थानीय शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा निर्माणाधीन २४ घर रहने एकीकृत बस्तीको काम तीव्रगतिमा अघि बढेको हो ।
२० घर भूकम्पपीडित र चार घर अन्य गरी २४ घर परिवारका लागि निर्माणाधीन एकीकृत बस्ती नगरप्रमुख दिपनारायण रिजालले गत असोज ४ गते शिलान्यास गर्नुभएको थियो । नेपाल सरकारको अवधारणा अनुसार नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको बस्ती देशकै नमूना बनाइने नगरप्रमुख रिजालले बताउनुभएको छ ।
भूकम्पपीडितले पाउने प्रति घर तीन लाखको ६० लाख र बाँकी रकम पुनः निर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ । नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोग समेत गरेको छ ।
सामुदायिक भवन समेत निर्माण गरिने उक्त बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उड्ययनपार्क पनि निर्माण गरिने निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताउनुभयो । ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्यसहित निर्माण कार्य थालिएको बस्तीका लागि प्राधिकरणसँग नगरपालिकाले सम्झौता गर्नुका साथै निर्माण उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेपछि अगाडि बढेको हो ।
होमस्टे (घरबास)को अवधारण अनुसार निर्माण गर्न थालिएको एकीकृत बस्तीको १२ घरको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । बाँकी १२ घरको पनि काम तीव्रगतिमा अगाडि बढाइएको अध्यक्ष ढकालको भनाइ छ ।
हिमश्रृङ्खला तथा तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कलाई पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “हरेक वडामा एक÷एक वटा नमूना काम गर्ने नगरपालिकाको योजना छ ।” उहाँले भन्नुभयो, “विजयखर्कमा निर्माणाधीन एकीकृत बस्तीलाई पर्यटन प्रवद्र्धन गर्न होमस्टेको रुपमा विकास गर्ने योजनामा लागी परेका छौं ।”
बहुउद्देश्यीय बस्ती निर्माणको काम दशैतिहारपछि लगत्तै शुरु हुने निर्माण उपभोक्ता समितिले जनाएको छ । सगरमाथा राजमार्गले छोएको विजयखर्कमा पर्यटन विकासको राम्रो सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया