बाँसको जराबाट कलाकारिता थाल्नुभएका रोजनको मासिक दुई लाख ५० हजार कमाइ

Halesi
14 Shares

खोटाङ, १७ माघ ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मुर्तीकार रोजन राईलाई पछिल्लो समय मुर्ती तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ भएको छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मुर्ती बनाउँदै आउनुभएका राईलाई पछिल्लो समय देश तथा विदेशबाट अनुरोध आउन थालेपछि भ्याइनभ्याइ भएको हो ।
नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मुर्ती निर्माण गरिसक्नुभएका राईले अहिले फाइवर, ढुङ्गा, माता तथा पित्तल, धलौट, सिमेन्ट, काठ तथा बाँस लगायतका कच्चा पदार्थ प्रयोग गरेर सबै किसिमको मुर्ती निर्माण गर्नुहुन्छ । बुबा मनदत्त राई र आमा धनकुमारी राईको जेठो छोरा रोजन सानै उमेरदेखि मुर्तीकलामा चासो राख्ने व्यक्ति रहेको उहाँका छिमेकी बताउँछन् ।
२० वर्षदेखि मुर्ती निर्माणको पेशा गर्दै आउनुभएका राईले अहिलेसम्म हजारौं मुर्ती तथा प्रतिमा निर्माण गरिसक्नुभएको छ । “विशेषगरी सँस्कृति सम्बन्धीका मुर्ती निर्माणको माग बढी आउछ ।” उहाँले भन्नुभयो, “अहिले हङकङको लागि काम भइरहेको छ । यो सक्ने बित्तिकै अमेरिका, बेलायत लगायतका देशमा गएर मुर्ती बनाउनुपर्ने छ ।”
धनकुटाको भेडेटारमा कला उद्योग, आर्ट स्टुडियो र ग्यालरी रिसोर्ट समेत सञ्चालन गर्नुभएका मुर्तीकार राईले आफ्नो मासिक कमाइ रु. दुई लाख ५० हजारसम्म हुने गरेको बताउनुभएको छ । “नौं जना कामदारलाई खाना तथा खाजा खुवाएर मासिक १५ हजार तलब दिनुपर्छ ।” उहाँले भन्नुभयो, “बढ्दो महङ्गीका बाबजुध सबैथोक कटाएर पनि मासिक रु. दुई लाख ५० हजारसम्म बचत हुन्छ ।”
मुर्तीकार राईले काठमाडौंको शङ्खमुलस्थित बागमती किनारमा देशकै सबैभन्दा ठूलो शङ्खको मुर्ती, कोटेश्वरमा रैछाकुलेको प्रतिमा, खोटाङको हलेसीस्थित तुवाचुङ जायाजुङमा तायामा, खियामा र रैछाकुलेको प्रतिमा, धनकुटामा हिलेको तुङ्बा, भेडेटारमा शङ्ख मन्दिर, धरानको यलम्बर पार्कमा यलम्बर राजाको प्रतिमा, पार्खीबासमा बुद्धको मुर्ती, दिक्तेलको भुलभुलेमा बुढानिलकण्ठको मुर्ती, विभिन्न जिल्लामा शहीदहरुको प्रतिमा निर्माण गरिसक्नुभएको छ । नेपालका प्राय सबै जिल्लामा पुगेर मुर्ती तथा प्रतिमा निर्माण गर्नुभएका राईले भारतको सिक्किममा सुम्निमा÷पारुहाङ, यलम्बर, किरातेश्वर लगायत १०० भन्दा बढी प्रकारका मुर्ती निर्माण गर्नुभएको छ ।
सिक्किमको गान्टोकस्थित राङ्का गाउँ पञ्चायतमा निर्माणाधीन पारुहाङ साप्तेन माङ्गखिममा मुर्तीकार राईले निर्माण गर्नुभएको चिण्डो (वाबु) सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ । किरात सङ्ग्रहालय समेत रहेको उक्त ठाउँको सबै मुर्ती तथा प्रतिमा रोजनले नै निर्माण गर्नुभएको जनाइएको छ ।
ऐतिहासिक कुरालाई मुर्ती तथा प्रतिमा निर्माण गरेर आम समुदायमा पु¥याउन पाउँदा आफैलाई गर्व महशुष हुने गरेको मुर्तीकार राईले बताउनुभयो । “जुनसुकै धर्म तथा जातजातिको विषयमा जोस् । उनीहरुको सँस्कृति संरक्षणमा मैले पनि धेरथोर सहयोग गर्न पाएको छु ।” उहाँले भन्नुभयो, “कतिपय देख्दै नदेखेको कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न पाउँदा आफैलाई गर्व लाग्छ ।”
मुर्तीकार राईले आफ्नो पेशासँगै नेपालका विभिन्न जिल्लामा पुगेर दर्जनौं युवालाई हस्तकला सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउनुभएको छ । उहाँले तालिम दिनुभएका कतिपय युवाले फर्म नै खोलेर हस्तकला सम्बन्धी काम गरिरहेका छन् ।
पछिल्लो समय नेपालकै सबैभन्दा ठूलो बुद्धको मुर्ती तथा बुद्ध पार्कको डिजाइन र प्रतिमा निर्माणका काम थालेको उहाँले बताउनुभयो । धरानको भेडेटारमा निर्माण गरिने उक्त मुर्ती र पार्क आगामी तीन वर्षभित्र पूरा हुने जनाइएको छ ।
देश तथा विदेशमा पुगेर मुर्ती, प्रतिमा र सजावटका सामग्री निर्माण गर्दै आउनुभएका मुर्तीकार राईले नेपाल अन्य मूलुकभन्दा धेरै समृद्ध रहेको बताउनुभएको छ । “हाम्रो देश पर्यटकीय क्षेत्रको हिसाबले समृद्ध छ ।” उहाँले भन्नुभयो, “सरकारको ध्यान जान सकेमा पर्यटनबाट नै मनग्य आम्दानी गर्न सकिन्छ ।”
नेपालका विभिन्न ठाउँमा आयोजना गरिएको हस्तकला प्रदर्शनीमा दर्जनौं उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएका मुर्तीकार राईले ललितकला प्रज्ञा परिषदबाट हस्तकला मुर्तीकला विभाग अन्तरगत विशेष सम्मान समेत प्राप्त गरिसक्नुभएको छ । हस्तकलाका माध्यमबाट नेपालका आदिवासी जनजातिको सँस्कार÷सँस्कृति संरक्षण तथा प्रवद्र्धनमा मुर्तीकार राईले महत्वपूर्ण भूमिका निर्वाह गरेबापत नेपाल आदिवासी जनजाति महासङ्घले समेत ताम्रपत्रका साथमा सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया