हलेसी खबर
खोटाङ । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सरकार निरंकुश र अधिनायकवादी बाटोमा अघि बढेको आरोप लगाएका छन् । नेपाली कांग्रेस खोटाङले सोमबार दिक्तेलबजारमा गरेको बिरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले उक्त सभालाई सम्वोधन गर्दै पञ्चायती सरकार र वर्तमान सरकारबीच कुनैपनि फरक नभएको समेत टिप्पणी गरेका छन् । सत्ताको आडमा सरकारको पछिल्लो गतिविधि साथै आफ्नो पार्टीका वरिष्ठ नेतामाथि गरेको दुव्र्यवहारका स्वरुपले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको उनको आरोप रहेको छ । सरकारले कोरोना महामारी नियन्त्रणमा गम्भीर नभएको साथै भ्रष्टाचारमा चुर्लुम्म डुबेको समेत उनको आरोप थियो ।
दुई तिहाईको दम्भ देखाएर देशमा हाम्रो विरोध गर्ने कोई छैन जे गर्दा नि हुन्छ जस्तो व्यवहार देखाएकोले सरकारको अधिनायकवादी व्यवहारविरुद्ध कोरोना महामारीमा सडकमा आउनु कांग्रेसको रहर नभई बाध्यता भएको उनले बताए ।
सत्तारुढ दलभित्रको दुई गुटको झगडाका कारण सिंगो मुलुक बन्धक बनेको भन्दै सरकार पूर्णरुपमा असफल बनेको बताए । ओली र प्रचण्डको झगडा सैद्धान्तिक झगडा नभएर भ्रष्टाचारमा भागबण्डा नमिल्दा भएको दावी गर्दै नेता घिमिरेले रोजगार र राहतका बहानामा सरकारले ठूलो आर्थिक अनियमितता गरेको आरोप लगाए ।
बालुवाटारको जग्गा प्रकरणमा मुछिएको व्यक्ति अर्थमन्त्रीको कुर्सीमा विरजमान भएको भन्दै सरकारको चरित्रमाथि प्रश्न उठाएका छन् । भ्रष्टाचार र अधिनायकवाद र संविधान विपरित सरकारका काम विरुद्ध कांग्रेसले विरोध प्रदर्शन र आन्दोलनलाई निरन्तरता दिने उनले बताए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २९ गते सोमबार देशका सबै जिल्लाहरुमा एक साथ विरोध प्रदर्शन गरेको थियो ।


