खोटाङ, ५ वैशाख । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत शनिबार वडा नम्बर–२ को आयोजनामा ऐतिहासिक तथा धार्मिकस्थल साकेला थान र साकेला पार्क (उद्यान) क्षेत्रमा बृहत सरसफाइ गरिएको छ । हजारौँ वर्ष पुरानो सांस्कृतिक सम्पदा तथा धार्मिक पर्यटकीयस्थलको संरक्षण र सौन्दर्यकरणलाई निरन्तरता दिने उद्देश्यले जनश्रमदानमार्फत सरसफाइ गरिएको हो ।
गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिकाले सुरु गरेको श्रमदान अभियानमार्फत साकेला थान र साकेला पार्कमा गरिएको सरसफाइले स्थानीयस्तरमा स्वच्छता र वातावरणीय जिम्मेवारीबोध बढाउन सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।
स्वच्छता केवल सरसफाइको काम मात्र नभइ सभ्य समाज निर्माणको आधार भएकाले जनश्रमदानमार्फत धार्मिक तथा पर्यटकीयस्थलको सरसफाइ गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । “हामीले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी वातावरणीय सन्तुलन, सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेका छौँ । जनश्रमदानको संस्कृतिले गाउँपालिकामा अपनत्व र जिम्मेवारीको भावनालाई समेत बलियो बनाएको छ”, उहाँले भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटकीय सम्भावनालाई समेत प्रवद्र्धन गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिनेछ । अभियान सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक छ ।”
जिल्लाको सबैभन्दो सानो (पाँचवटा मात्रै वडा रहेको) साकेला गाउँपालिकाले पालिकालाई सफा, स्वच्छ र सुन्दर बनाउने लक्ष्यसहित ‘पूर्ण सरसफाइ अभियान’लाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । भौतिक पूर्वाधार विकासका कामसँगै पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको यो गाउँपालिकाले विभिन्न वडामा सरसफाइ, फोहर व्यवस्थापन तथा सार्वजनिकस्थलको संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सौन्दर्यकरण, पहिचान र दिगो विकासका बहुआयामिक कार्यहरू तीव्रगतिमा अघि बढाएको यो गाउँपालिका जिल्लाका अन्य नौँ स्थानीय तहभन्दा फरक पहिचानसहित अग्रगामी यात्रामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काईवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट (द्धार) तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ ।
स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त प्रस्तुत गरेका छन् । यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचनाहरू निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ । विकास केवल कागजमा सीमित नबनाइ प्रत्यक्ष कार्यान्वयनमा उतार्ने शैलीले यो गाउँपालिकालाई अन्य स्थानीय तहभन्दा फरक बनाएको छ ।
गाउँपालिका प्रमुख राई आफै श्रमदानका लागि मैदानमा उत्रिएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दामा समेत सकारात्मक उर्जा र सहभागिता बढेको देखिन्छ । साकेला गाउँपालिकाले लिएको ‘श्रम साकेला अभियान’ नीतिअनुसार जनश्रमदानलाई विकासको मुख्य आधार बनाइएको छ ।
गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाइने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छ भने, टोलटोलसम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित दिशा निर्देशक चिन्ह (डाईरेक्सन एरो)समेत देखाएको छ । गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति तथा प्रवद्र्धनको कामलाई तीव्रता दिइएको उपप्रमुख बिर्सिकाले जानकारी दिनुभएको छ ।


