खोटाङ, १० वैशाख । खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन्दै गाउँपालिकाले यही वैशाख–१३ गतेदेखि सबै विद्यालयमा पठकन–पाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
विद्यमान पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने भएकाले अर्को व्यवस्था नभएसम्म वैशाख–१० गतेसम्म भर्ना अभियान र १३ गते आइबारबाट पठन–पाठनका लागि विद्यालय सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले बताउनुभएको छ । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णयअनुसार सबै विद्यालयमा वैशाख–१३ गते आइबारदेखि पठन–पाठन सुरु हुने भएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को चैत–१२ गते बसेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत–२६ गते ७७ वटै जिल्लालाई सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको हो ।
नेपाल सरकारले शैक्षिक सत्र २०८३ को वैशाख–१५ देखि भर्ना र वैशाख–२१ गतेदेखि पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएको छ । जिल्लाका अन्य स्थानीय तहले नेपाल सरकारको निर्देशनअनुसार नै विद्यालयमा विद्यार्थी भर्ना तथा पठन–पाठनका लागि कक्षा गर्ने तयारी गरेको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा ४८३ वटा सामुदायिक तथा १६ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लामा सञ्चालित निजी विद्यालयले समेत सरकारको निर्देशन अनुसार नै वैशाख–२१ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय खोटाङले जनाएको छ ।


