हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु

Minakshi Rai

खोटाङ, ३ साउन । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होम–स्टे (घरवास) सञ्चालनमा ल्याएका छन् । साउन–२ गतेदेखि औपचारिक उद्घाटन गरिएको होम स्टेसँगै ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सीको बिक्री वितरणसमेत सुरु गरिएको छ ।

पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित होम–स्टे सञ्चालनमा ल्याइएको सञ्चालकहरूले जनाएका छन् । त्रिधार्मिकस्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको यो होम–स्टे पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ ।

होम–स्टेमा आउने पाहुनाले लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचार लगायतका परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन् । ‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ नारासहित सुरु गरिएको होम–स्टेमा आउने पाहुनाका लागि सस्तो दररेट निर्धारण गरिएको छ ।

होम–स्टेमा आउने पाहुनाका लागि बासका प्रति बेड रु २०० र एकजनाले खाने सादा खानाको मूल्य रु २०० तोकिएको छ । यसैगरी, लोकल कुखुराको मासु रु १५०, ब्रोइलर रु १००, राँगा रु १००, सुँगुर रु १००, खसी रु १५०, भेज ब्रेकफास्ट रु १५०, लोकल अण्डा ४० मा उपलब्ध हुने जनाइएको छ ।

होम–स्टे आएर बस्ने पाहुनाका लागि लोकल भाले प्रति केजी रु ९०० मा उपलब्ध गराउने व्यवस्था मिलाइएको सञ्चालकहरुले बताएका छन् । होम–स्टेमा खान र बस्नका साथै किरात संस्कार तथा संस्कृति अध्ययन र साकेला सिलीसमेत अवलोकन गर्न पाइने जनाइएको छ ।

पेय पदार्थतर्फ तोङ्बा रु २०० तथा ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सी एक हजार एमएलको रु ९१०, ५०० एमएलको रु ५०० र २५० एमएलको मूल्य रु २५० तोकिएको को छ । स्थानीय ३० घर चाम्लिङ राईहरुको सहभागितामा सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको होम–स्टेमा हाल आठ घर सहभागी भएका छन् ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हरेक वर्ष लाखौं पर्यटक आउने भएकाले उनीहरूलाई स्थानीयस्तरमै सेवा दिने लक्ष्यका साथ होम–स्टे सञ्चालन गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “स्थानीय उत्पादन, संस्कृति र आम्दानीलाई जोड्ने उद्देश्यले होम–स्टे सञ्चालनमा ल्याएका हौँ । तत्कालका लागि दैनिक ४० जना पाहुनालाई राख्न मिल्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यो होटल व्यवसायीसँगको प्रतिस्पर्धा होइन । यसको छुट्टै विशेषता छ ।”
नगरपालिकाले दुई वर्षदेखि पूर्वाधार तयारी गरेको जनाउँदै पहिलो वर्ष सडक स्तरोन्नति तथा ग्राबेल गरिएको र दोस्रो वर्ष सिँढी

बाटो निर्माण, तालिम र कोदोको तीनपाने रक्सी ब्रान्डिङ गरिएको नगरप्रमुख राईले जानकारी दिनुभएको छ । ब्रान्डिङ गरिएको रक्सीलाई बोतलिङ र लेबलिङगरी बजारमा ल्याइएको छ । नगरपालिकाको पहलमा उत्पादन गरिएको लोकल रक्सीको अल्कोहल नाप्ने मेसिनसमेत प्रयोग गरिएको छ । स्थानीय तालिमप्राप्त महिलाले उत्पादन गरेका रक्सीमा ४५ देखि ५० प्रतिशतसम्म अल्कोहल रहेको जनाइएको छ ।

उत्पादित रक्सीलाई नगरपालिकाले कार्यविधि बनाएर होम–स्टेमार्फत मात्रै बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । कानूनीरुपमा उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्ध रहेको कोदोको रक्सीलाई नगरपालिका आफैले प्रवद्र्धनको काम सुरु गरेपछि स्थानीयले रोजगारसमेत पाएका छन् ।

तपाईको प्रतिक्रिया