खोटाङ, ३० असार । ठेकेदारको ढिलासुस्तीका कारण खोटाङको दुई सडक कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसेलुखर्कबजार जोड्ने सडक र सोही सडकखण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक ठेकेदारको चरम ढिलासुस्तीका कारण कालोपत्र योजना अपुरो हुने भएको हो ।
कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार–१५ गतेभित्र सक्नेगरि निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले सडकमा कालोपत्र हाल्नका लागि आवश्यक सामग्री तयार पारेपनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले बताउनुभएको छ । नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडक रु दुई करोड ३८ लाख ३८ हजारमा दुई हजार २०० मिटर खण्डमा कालोपत्र गर्नेगरी ठेकेदार कम्पनीले काम सुरु गरेको थियो ।
सोही ठेकेदार कम्पनीले हुर्लुङबाट जालपातर्फ दुई हजार ५०० मिटरमा अस्फाल्ट पिच गर्नेगरी रु दुई करोड ५३ लाख ५४ हजारमा सम्झौता गरिएको थियो । हालसम्म नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा–हुर्लुङ–सप्तेश्वर–बाक्सिला सडकको प्रगति १३ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ ।
सम्झौता अनुसार ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सव–बेस, कज–वे ढलान लगायतका काम गरिसकिएको छ । तर बेस राखेर कालोपत्र हाल्नेबेला ठेकेदार कम्पनीले काम अघि बढाउन नसकेको स्थानीयले बताएका छन् । करिब महिना दिनको काम बाँकी रहँदा नियमित वर्षा भइरहेका कारण ठेकेदार कालोपत्र हाल्नबाट पछि हटेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभएको छ । बेलामा ‘बिटुमिन’ किनेर ल्याउन नसकिएका कारण कालोपत्रको काम पूरा गर्न नसकिएको ठेकेदार कम्पनीका प्रतिनिधिहरुले बताएका छन् ।
कालोपत्र हाल्ने चरणमा पुगेपछि कालोपत्र नै नगरी काम छाडिँदा राज्यको रकम खेर जाने अवस्था सिर्जना भएको हुर्लुङका स्थानीयवासी महन गुरुङले बताउनुभएको छ । म्याद थप भए करिब महिना दिनमा कालोपत्र सकिने कार्यालयले जनाएको छ ।
ठेकेदार कम्पनीले गत वैशाख–३ गते दुवै सडकको कालोपत्र गर्ने कबोलसहित ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको लामो समयसम्म विभिन्न बहानामा निर्माणको काम सुरु नगरी बसेका ठेकेदार कम्पनीका प्रतिनिधिले अन्तिममा आएर काम सुरु गरेपनि वर्षाका कारण काम रोकेर हिँडेका हुन् ।
कार्यालय तथा स्थानीयको प्रयाप्त सहयोग हुँदा हुँदै दुवै सडक कालोपत्र नगरी ठेकेदारहरु निर्माणस्थल छाडेर हिँडेपछि स्थानीय आक्रोशित बनेका छन् । प्रदेश सरकारको लगानीमा यस वर्षबाट बल्ल कालोपत्रको काम सुरु गरिएको दुई सडक ठेकेदारको लापरबाहीले अलपत्र परेपछि आक्रोशित बनेका हुन् ।
दश स्थानीय तह रहेको जिल्लामा मध्यपहाडी लोकमार्ग बाहेक अन्य ग्रामीण सडक अहिलेसम्म कालोपत्र भएका छैनन् । ठेकेदारहरुले सडक कालोपत्रका लागि निर्माणस्थलमा ल्याएका निर्माण सामग्रीसमेत निर्माणस्थलमै छाडेर हिँडेपछि यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन् ।


