प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता : झापाका प्रकाशचन्द्र नेपालीलाई प्रथम उपाधि

Minakshi Rai

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा झापाका प्रकाश चन्द्र नेपाल प्रथम हुनुभएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेशस्तरीय गरेको सम्पन्न खुला बुद्धिचाल प्रतियोगितामा प्रथम हुनुभएका नेपाललाई रु ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदानसहित पुरस्कृत गरिएको छ।

कोशी प्रदेश बुद्धिचाल सङ्घ सह–आयोजक तथा जिल्ला बुद्धिचाल सङ्घ खोटाङको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा धनकुटाका सुमन श्रेष्ठ द्धितीय र सुनसरीका ललितबहादुर राई तृतीय भएका छन् । उनीहरुलाई क्रमशः रु १५ हजार, रु दश हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
दशौँ स्थान हासिल गर्ने खेलाडीसम्मलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा मोरङका उमेश राई चौथो, झापाका ज्वाला इम्बुङ पाँचौँ र इलामका सुरेन्द्र कुमार राई छैटौँ भएका छन् । उनीहरुलाई क्रमश : रु आठ हजार र रु सात हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । त्यस्तै, खोटाङका धिरेन राई सातौँ, खिला राज राई आठौँ, सुनसरीका किशोरदेव राई नवौँ र हलेसीका मेजर राई दशौँ भएका छन् । उनीहरुलाई जनही रु पाँच/पाँच हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

सात समूहमा विभाजन गरेर फरक–फरक विद्यामा पुरस्कृत गर्नेगरी आयोजना गरिएको प्रतियोगिता अन्तरगत महिलातर्फ कुसुम घिसिङ प्रथम, लिरा सेनेहाङ द्धितीय र तपस्या कार्की तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिनुभएको छ ।

विद्यार्थीतर्फ राकेश आचार्य प्रथम, कमल राजभण्डारी द्धितीय र सुशासन राई तृतीय भएका छन् । उनीहरुलाई नगद रु पाँच हजार, रु चार हजार र रु तीन हजार नगदसहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको छ । खोटाङ जिल्लातर्फ मनकुमार राई प्रथम हुँदै रु ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ आयुष राई प्रथम हुँदै रु ३ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ।

रेटिङतर्फ एक हजार ७०० र एक हजार ६०० मुनिका खेलाडीले कुनै पनि पुरस्कार जित्न नसकेको आयोजकले जनाएको छ । उमेर समूहतर्फ १६ वर्ष मुनिक अभिशेक आचार्यलाई रु चार हजार तथा १२ वर्ष मुनिका क्रिशल प्रधानलाई नगद रु तीन हजार प्रदान गरिएको सचिव कसजुले बताउनुभएको छ ।

प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन (उच्च पहाडी क्षेत्रका उत्कृष्ट) हुने निङ्मा शेर्पालाई नगद रु चार हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आठ जिल्लाका ६२ जना खेलाडीको सहभागिता रहेको थियो । उक्त प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता स्वीस लिग फरम्याट (स्वीजरल्याण्डमा प्रचलित नियम) अन्तरगत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया