साकेला गाउँपालिकाद्धारा उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकार पुरस्कृत

Minakshi Rai

खोटाङ, २१ असार । साकेला गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालय मात्तिम मानेभङ्ज्याङमा आइतबार आयोजित कार्यक्रममा शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, प्रतिशतको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो ।

एसइईमा गाउँपालिकाभित्र सबैभन्दा बढी ३ दशमलव १८ जिपिए प्राप्त गर्दै प्रथम हुने सरस्वती माध्यमिक विद्यालय मात्तिमकी छात्रा कृषा राईलाई नगद रु. ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै, ३ दशमलव १५ जिपिए प्राप्तगरी दोस्रो हुने चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँकी छात्रा मार्टिना राईलाई नगद रु. ३० हजार तथा ३ दशमलव १२ जिपिए प्राप्त गर्ने सोही विद्यालयका छात्र दीपसुहाङ राईलाई नगद रु. २० हजार, ३ दशमलव ०७ जिपिए प्राप्त गर्ने बालबालिका माध्यमिक विद्यालय नौलाखर्ककी छात्रा पविना राई र राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाकी छात्रा सन्धिका राईलाई जनही रु. पाँच/पाँच हजार प्रदान गरिएको छ ।

विद्यालयतर्फ एसइई परीक्षामा सहभागी विद्यार्थीको उत्तीर्ण प्रतिशतका आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पनि नगदसहित पुरस्कृत गरिएको छ । एसइई दिएका विद्यार्थीमध्ये ८८ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर प्रथम हुने सरस्वती माध्यमिक विद्यालय मात्तिमलाई नगद रु. ५० हजार, ७२ दशमलव ७२ प्रतिशत उत्तीर्ण गराएर दोस्रो हुने राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडालाई नगद रु ३० हजार, ६२ दशमलव ०२ प्रतिशत उत्तीर्ण गराएर तेस्रो हुने सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमालाई नगद रु. २० हजार तथा ५७ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर सान्त्वना स्थान हासिल गर्ने साकेला माध्यमिक विद्यालय रतन्छालाई नगद रु दश हजारसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले समायोजन खबर मिडिया ग्रुप खोटाङका सञ्चालक एवम् नेपाल पत्रकार महासङ्घ खोटाङका उपाध्यक्ष चिसाङ शेर्पालाई समेत पुरस्कृत गरेको छ । पत्रकार शेर्पाले व्यवसायिक पत्रकारितामार्फत निष्पक्ष र जिम्मेवार कलम चलाएको भन्दै गाउँपालिकाले नगद रु. २५ हजार राशीको पुरस्कार प्रदान गरेको हो ।

जिल्लाको समग्र सञ्चार क्षेत्रलाई विश्वसनीय, मर्यादित र प्रभावकारी बनाउन समन्वयात्मक भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङलाई समेत सम्मानपत्रद्वारा सम्मान गरेको छ । पुरस्कृत विद्यार्थी, विद्यालय तथा पत्रकारलाई गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत अर्जुनकुमार राईले विद्यार्थी, विद्यालय र पत्रकारलाई पुरस्कृत गर्नुभएको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका प्रमुख राईले सम्मान केवल पुरस्कार वितरणमा सीमित नभइ शिक्षामा उत्कृष्टता हासिल गर्ने संस्कृतिको विकास गर्ने अभियान भएको बताउनुभएको छ । देशको समृद्धिको प्रमुख आधार गुणस्तरीय शिक्षा भएको उल्लेख गर्नुहुँदै गाउँपालिका प्रमुख राईले शिक्षा प्रणालीमा समयानुकूल परिवर्तन अपरिहार्य रहेको धारणा राख्नुभएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नगरी समृद्ध समाज निर्माण सम्भव नहुने जानकारी दिनुहुँदै गाउँपालिका प्रमुख राईले विद्यालयले केवल प्रमाणपत्र उत्पादन गर्ने होइन, सक्षम, नैतिक, सिर्जनशील र व्यवहारिक ज्ञान भएका नागरिक तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । गुणस्तर शिक्षाका लागि शिक्षण पद्धति, प्रविधि र सोच तीनै पक्षमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया