खोटाङ, २० असार । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारबाट छिमेकी जिल्ला भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । सङ्घीय सरकारको समपुरक अनुदानमा खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र सोही गाउँपलिकाको वडा नं. ३ सावाकटहरेको सीमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबारबाट सञ्चालनमा ल्याइएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र भोजपुरको राप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीस्थित पाप्माखाम भञ्ज्याङ जोड्ने यो सडकखण्डको सावाखोलामा भ्याटसहित रु तीन करोड सात लाख ७३ हजार ५९८ मा मोटरेबल पक्की पुल निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ चिप्रिङका वडाध्यक्ष किरण राईले जानकारी दिनुभएको छ । करिब आठ वर्षदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको यो सडकखण्डमा पर्ने सावाखोलाको मोटरेबल पक्की पुल ठेकेदार कम्पनी एवै–शुभ एण्ड ध्रुव–श्याम जेभी खोटाङले ठेक्कामार्फत निर्माण गरेको हो ।
सम्झौता गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी वि. सं. २०८० पुस–३० गते सावाखोला मोटरेबल पुलको ठेक्का सम्झौता गरिएको थियो । निर्माण सामग्र अभाव लगायत विविध कारणले तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न नभएपछि थपिएको छ महिनाको म्याद सकिनुभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर उमेशचन्द्र राई जानकारी दिनुभएको छ ।
गत जेठ मसान्तमा निर्माण सम्पन्न भएको सावाखोला मोटरेबल पुलको लम्बाई २० दशमलव ९० मिटर रहेको छ । निर्माण सम्पन्न भएको करिब महिना दिनपछि गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले शनिबार सावाखोला मोटरेबल पुलको औपचारिक उद्घाटन रिबन काटेर गर्नुभएको छ ।
सावाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै यो सडकखण्डमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको वाप्लुखाका वडाध्यक्ष पारस राईले जानकारी दिनुभएको छ । सावाखोलामा मोटरेबल पक्की पुल नहुँदा हिउँदभर करिब छ महिनामात्रै यातायात सञ्चालन हुँदै आएको यो सडकखण्डमा बाह्रै महिना यातायात सञ्चालन हुने भएपछि स्थानीयसमेत हर्षित भएका छन् ।
सावाखोला मोटरेबल पक्की पुल निर्माण गरेबापत गाउँपालिकाबाट रु ५० लाख भुक्तानी लिन बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ । ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रकम यही असार मसान्तभित्र दिएर फरफारक गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभएको छ ।
वि.सं. २०७५ सालमा ट्र्याक खोजिएको खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक कोशी प्रदेश सरकार अन्तरगत भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित रु दुई करोडमा स्तरोन्नति भइरहेको छ । शान्ति भूमि कन्ट्रक्सन प्रा.लि.ले ठेक्कमार्फत स्तरोन्नतिको काम गरिरहेको यो सडक करिब ३३ किलोमिटर लामो छ ।
खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक स्तरोन्नति सम्पन्न भएपछि दुई जिल्लाका स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । छिमेकी जिल्ला भोजपुरका स्थानीयवासीसँग खोटाङका स्थानीयवासीको परापूर्वकालदेखि साँस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको छ ।


