खोटाङ, २० असार । खोटेहाङ गाउँपालिका–८ सिम्पानी निवासी नायक तथा निर्देशक नवल खड्काले लेख्नुभएको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो ।
नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुख÷दुःखका सङ्गालोलाई पुस्तकमा समेट्नुभएको छ । २०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंह, सह–संयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर सम्वाददाता मनोज बडुले असार–१९ गते दार्चुलाको तिङ्करमा पुगेर संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
नायक, निर्देशक तथा लेखक खड्काले लेखेको पुस्तक ‘नवल खड्का’ प्रशंसाको कथा मात्र नभइ यो देश सोच्ने एउटा नागरिकले प्रत्यक्ष भोग्नुपरेको बेचैनीको कथा भएको प्रकाशकले पुस्तकमा उल्लेख गरेको छ । “देशलाई नारामा होइन, नसामा महसुस गराउने कथा हो । सिनेमालाई मिसनको रुपमा बुझाउने कथा हो”, पुस्तकको बाहिरी पृष्ठमा लेखिएको छ, “देशभक्तिको भनाइ र गराइबीचको फरकको कथा हो । यो एक योद्धाको कथा हो । यो तपाईको नवलको कथा हो ।”
चलचित्र क्षेत्रमा लागेर देशभक्त नायकको पहिचान बनाउनुभएका नायक तथा निर्देशक खड्काले आफ्नो ‘नवल खड्का’ पुस्तक तथा ‘भिमदत्त’ र ‘काँडेतार’ चलचित्रबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा नेपालको सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमान खर्च गर्ने घोषणा गर्नुभएको छ । नायक खड्काले सीमामा सीसी क्यामेरा जडान, नेपाली सेनालाई सीमा सुरक्षाको पूर्ण जिम्मेवारी, १६ वर्ष उमेर पुगेका प्रत्येक नेपाली नागरिकलाई आधारभूत सैनिक तालिम प्रदान गर्ने व्यवस्था तथा ‘शान्ति क्षेत्र नेपाल’ घोषणालाई पुनः जीवित गर्नुपर्ने बताउनुभएको छ ।
नायक तथा निर्देशक खड्काले जङ्गे सीमा स्तम्भलाई आधार मानेर सम्पूर्ण नेपाली सीमामा काँडेतार लगाउने कार्य तत्काल सुरु गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ । “हामी शून्य नम्बर पिलर खोज्न गयौँ, तर भेटिएन । त्यसैले सरकारसँग मेरो खुला चुनौती छ । शून्य नम्बर पिलर कहाँ छ ? देखाइयोस्”, उहाँले भन्नुभयो, “महाकाली, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुगेर स्थानीयसँग एक रात बसेर वास्तविक अवस्था बुझ्न म सरकारलाई चुनौती दिन्छु ।”
तिङ्कर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नायक खड्काले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त भएर जुट्न देशवासीलाई आग्रहसमेत गर्नुभएको छ । नायक खड्काले तिङ्कर भञ्ज्याङमा भ्यू–टावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।
पर्यटकीय क्षेत्र तिङ्कर भञ्ज्याङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सके धार्मिक पर्यटनको ढोका खुल्ने नायक खड्काले बताउनुभएको छ । तिङ्कर भञ्ज्याङमा आवश्यक पूर्वाधार निर्माण गरिएको खण्डमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपाल सरकारले वार्षिकरूपमा अरबौँ आम्दानी गर्न सक्ने जानकारी दिनुभएको छ ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक सिंहले नायक खड्का स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभइ आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताउनुभएको छ । देशभक्त कलाकार खड्काको योगदानलाई राज्यले समयमै सम्मान गर्नुपर्नेमा संयोजक सिंहको जोड छ ।
खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आउनुभएका नायक, निर्देशक तथा लेखक खड्का खोटाङ सेवा समाज काठमाडौँ नेपालको अध्यक्षसमेत हुनुहुन्छ । करिब तीन दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसक्नुभएका नायक तथा निर्देशक खड्काले आफ्नै लगानीमा नेपाली कथानक चलचित्र ‘दशगजा’, ‘भिदत्त’, ‘आवाज’, ‘मायाँ बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ प्रदर्शनमा ल्याइसक्नुभएको छ ।


