खोटाङ, १५ जेठ । किरात समुदायको आस्थाको केन्द्र ‘साल्पा–सिलिचुङ’ आसपासका क्षेत्रमा मुन्दुमी बिरुवा रोपिएको छ । किरात मुन्दुमीस्थल साल्पा–सिलिचुङको संरक्षण तथा संवद्र्धन गर्नका लागि धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गा लगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएको हो ।
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ क्षेत्रको प्रकृतिक सौन्दर्यलाई बचाइ राख्न वृक्षरोपण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष सँगीता नाछिरिङ राईले जानकारी दिनुभएको छ । “डढेलोका कारण साल्पा–सिलिचुङ वरपरका मुन्दुमी वनस्पतीहरु नास हुँदै गएको छ । यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न वृक्षरोपण गरिएको हो”, उहाँले भन्नुभयो, “यही जेठ–१० गतेदेखि सुरु गरिएको वृक्षरोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । वृक्षरोपणले साल्पा पोखरीको पानी सुक्न नदिन र सौन्दर्यकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।”
साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका आर्थिक सह–संयोजक जलवती राईको नेतृत्वमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा स्थानीयवासीको समेत सक्रिय सहभागिता रहेको थियो । वृक्षरोपणमार्फत किरात ऐतिहासिकस्थल साल्पा पोखरीको मुहानलाई संरक्षण गर्दै साल्पा–सिलिचुङलाई हरियाली र सुन्दर बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको संगमस्थलमा पर्ने मुन्दुमीस्थल साल्पा पोखरी र सिलिचुङलाई संरक्षण र संवद्र्धनका लागि विभिन्न संरचनाहरु पनि निर्माण भइरहेका छन् । पछिल्लो समय धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको साल्पा–सिलिचुङ क्षेत्रमा साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले किराती पुर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी)’को प्रतिमा स्थापना गरेको हो ।
साल्पा–सिलिचुङ क्षेत्रमा स्थापना गरिएको सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा देश/विदेशमा रहेका किराती तथा गैरकिरातीबाट आर्थिक सहयोग सङ्कलन गरिएको रकमबाट निर्माण गरिएको आयोजकले जनाएको छ । औपचारिक कार्यक्रमसहित गत वर्ष स्थापना गरिएको सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा नेपाल सरकारका पूर्वमन्त्री सुदन किरातीले अनावरण गर्नुभएको थियो ।
साल्पा–सिलिचुङ किरातीहरुको मुन्दुमीस्थल एवम् किरात धार्मिक तथा सांस्कृतिकस्थल भएकाले संरक्षण र प्रवद्र्धन गर्न सुम्निमा–पारुहाङ तथा नछुङको प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले बताउनुभएको छ । “साल्पा–सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ । यसलाई संरक्षण र प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्य राखिएको छ”, उहाँले भन्नुभयो, “किराती मुन्दुम अनुसार साल्पा–सिलिचुङ नै किरातीहरुको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र भएको जनविश्वास छ । यसले किरातीहरुलाई सांस्कृतिकरुपले एकतामा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको समितिले जनाएको छ । समितिले तयार पारेको डिपिआर अनुसार साल्पा–सिलिचुङ परिसरमा सुम्निमा–पारुहाङका साथै मुन्दुमी पात्रहरुको मुर्ति तथा प्रतिमा, वाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्धार), माङखिम तथा मुन्दुम सङ्ग्राहलय लगायतका भौतिक संरचनाहरु निर्माण गरिनेछ ।
‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायल लगायत विश्वभर छरिरहेका नेपालीहरु जोडिएका छन् । बृहत् योनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहनुभएका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको छ ।
साल्पा–सिलिचुङको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो । धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती बस्तीहरु प्रष्ट देख्न सकिन्छ ।
साल्पा पोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुन्द्री सतहदेखि चार हजार १५५ मिटर अग्लो रहेको छ । सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रुपमा स्थापित छ ।
टेम्के समुन्द्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने, मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ । किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटकहरु आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन् ।
साल्पा पोखरीमा हरेक वर्ष चार पटक (वैैशाख, भदौ, कातिक र फागुन महिनाको पूर्णिमामा) मेलासमेत लाग्ने गरेको छ । बिना मुहान तथा बिना निकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बूलगायत विभिन्न जिल्लाबाट भक्तजनहरु पुग्ने गरेका छन् ।
साल्पा पोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरु बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ । कचौरा आकारमा फैलिएको साल्पा पोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ ।
पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पा पोखरी कै मार्ग प्रयोग गरेको बताइएको छ । नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यही क्षेत्र (साल्पा–सिलिचुङ)सम्म विस्तार गरिएको छ ।


