रावाखोला झोलुङ्गे पुलको बाँकी काम सम्पन्न गर्न समन्वय गरिदिन पालिकासमक्ष आग्रह

Minakshi Rai

मिनाक्क्षी राई
खोटाङ, १४ जेठ । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले निर्माणाधीन झोलुङ्गे पुल निर्माण योजनाको बाँकी काम सम्पन्न गर्न सम्बन्धित पालिकासँग सहयोग तथा सहजीकरण गरिदिन आग्रह गरेको छ । कार्यालयले केपिलासगढी गाउँपालिका र ऐंसेलुखर्क गाउँपालिकालाई पत्राचार गर्दै निर्माण उपभोक्ता समितिसँग समन्वय गरी निर्माणाधीन योजनालाई पूर्णता दिन आग्रह गरेको हो ।

साविक खोटाङ–उदयपुर जिल्ला कार्यक्षेत्र अन्तरगत उपभोक्ता समितिमार्फत निर्माण भइरहेको ६६ मिटर लामो रावाखोला झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको भए पनि केही प्रक्रिया बाँकी रहेकाले काम सम्पन्न गर्नका लागि समन्वय गरिदिन आग्रह गरिएको कार्यालय प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभएको छ । उक्त झोलुङ्गे पुल निर्माण योजनाको काम हालसम्म करिब ८४ दशमलव ४६ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

झोलुङ्गे पुल निर्माणको ठेक्का सम्झौता वि.सं. २०८० सालमा सम्पन्न भएको र पटक–पटक म्याद थप गरिएको भए पनि हालसम्म आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । निर्माणस्थलमा डेक जाली लगायतका केही काम अझै बाँकी रहेकाले तत्काल सम्पन्न गर्न यस आर्थिक वर्षका लागि रु दश लाख बजेटसमेत उपलब्ध रहेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभएको छ ।

पूर्वाधार विकास कार्यालय स्थापना भएपछि उक्त योजनासम्बन्धी फाइल तथा जिम्मेवारी कार्यालयमा हस्तान्तरण भएको जनाइएको छ । तर, निर्माण उपभोक्ता समितिका पदाधिकारी हालसम्म सम्पर्कमा नआएको भन्दै कार्यालयले आवश्यक समन्वय गरिदिन सम्बन्धित पालिकासँग आग्रह गरेको हो ।

निर्माणाधीन अवस्थामै अलपत्र छाडिएको रावाखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको अध्यक्षमा कमलजङ राई, सचिवमा अगमसिङ राई र कोषाध्ष्क्षमा राधिका राई रहनुभएको छ । अलपत्र छाडिएको झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका पदाधिकारीसँग भने सम्पर्क हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया