रेश्मिकाको बलात्कारपछि हत्या प्रकरण : नौँ महिनापछि थप तीन युवा पक्राउ

Halesi Khabar

खोटाङ, १३ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या गर्नमा संलग्न भएको आशङ्कामा थप तीनजना पक्राउ परेका छन् । गत भदौ–३० गते राति मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएपछि घटनामा संलग्न रहेको आशङ्कामा जेठ–१२ गते मङ्गलबार बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशको आधारमा मङ्गलबार तीन जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज–१ गते पक्राउ गरेर जिल्ला अदालत खोटाङको आदेशमा पुर्पक्षका लागि कारागार पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले रेश्मिका हत्या प्रकरणमा १६ वर्षीय एक किशोर बाहेक अन्यको संलग्नता नरहेको भन्दै आफन्तले दिएको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको थियो । रेश्मिकाको सामुहिक बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई प्रहरीकै संलग्नतामा उन्मुक्ति दिइएको भन्दै परिवारका सदस्य तथा दलित अधिकारकर्मीहरुले चरणवद्ध आन्दोलनसमेत गरेका थिए ।

एकजना किशोरले मात्रै रेश्मिकाको बलात्कारपछि हत्या गर्न नसक्ने भन्दै परिवारका सदस्यले उच्च अदालत ओखलढुङ्गामा थप तीन जनाको उल्लेख गरेर गत चैत–२१ गते किटानी जाहेरी दर्ता गराएका थिए । परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा उच्च अदालत ओखलढुङ्गाले चैत–२८ गते घटनाको विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङलाई आदेश दिएको थियो ।

तत्कालीन अवस्थामा प्रहरीले छानबिनको प्रक्रिया अगाडि नबढाएपछि संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले तत्काल दोषी पत्ता लगाएर कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्दै चैत–११ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्रसमेत बुझाएका थिए । घटनामा संलग्न व्यक्तिहरू गाउँसमाजमा खुलेआम हिँडिरहेकाले पीडित परिवारले असुरक्षा महसुस गरेको भन्दै उनीहरूले तत्काल पक्राउगरी कारबाहीको दायरमा ल्याएर शान्तिसुरक्षा प्रदान गर्न प्रशासनसँग माग गरेका हुन् ।

मृतक रेश्मिका बतासेस्थित पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत कर्मचारी हुनुहुन्थयो । सहकारीको कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा रेश्मिकाको शव फेला परेको हो ।

अपरान्ह आफ्नो काम सकेर कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल झाडीमा सोही राति मृत फेला पर्नुभएको थियो । जागिरका लागि काममा जानुभएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गर्दै आएका थिए ।

घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार विभत्स अवस्थामा मृत फेला पर्नुभएकी रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको थियो । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिनका साथै त्योभन्दा केही तल झोला र अन्डरवेर (प्यान्टी) भेटिएको प्रहरीले जानकारी दिएको थियो ।

घटनास्थलको सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा रेश्मिकाको विभत्स शव भेटिएकाले बलात्कारपछि हत्या भएको अनुमान गरिएको थियो । घटनाको विषयमा प्रहरीले सर्जमिन मुचुल्का गरेर धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा दश वर्षअघि श्रृङ्खलावद्ध तरिकाले तीन महिलाको हत्या गरेर फरार भएका व्यक्तिहरुसमेत अहिलेसम्म पक्राउ परेका छैनन् । वि.सं. २०७३ माघ–२६ गते खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ, वि.सं. २०७४ जेठ–१६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ विश्वकर्मा र वि.सं. २०७४ साउन–४ गते जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी देवी विश्वकर्माको विभत्सव हत्या भएको थियो ।

करिब छ महिनाभित्रको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएका तीन महिलाको विभत्स तरिकाले हत्याको घटनाको प्रकृति उस्तै–उस्तै देखिए पनि हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । लामो समय बित्दासमेत दोषी पहिचान नहुँदा निर्दोष महिलाको हत्या रहस्यमय बनेको छ ।

घटनामा कसको संलग्नता थियो, घटनाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै गर्भमै रहेको छ । तीन महिलाको श्रृङ्खलावद्ध हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा जिल्लामा प्रहरी प्रशासनको चर्को आलोचना हुने गरेको छ ।

तपाईको प्रतिक्रिया