श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम नछुङ चयन

Halesi Khabar

खोटाङ, १० जेठ । श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम राई ‘नछुङ’ चयन हुनुभएको छ । पार्टीका संस्थापक जिल्ला अध्यक्ष प्रताप राई प्रदेश समिति अध्यक्षमा चयन हुनुभएपछि रिक्त रहेको अध्यक्ष पदमा नछुङ चयन हुनुभएको हो ।

श्रम संस्कृति पार्टी खोटाङको आइतबार दिक्तेलमा बसेको बैठकले यसअघि जिल्ला सचिव रहनुभएका नछुङलाई अध्यक्षमा चयन गरिएको प्रदेश अध्यक्ष राईले जानकारी दिनुभएको छ । जिल्ला कार्यसमितिको पूर्ण बैठकले अध्यक्षमा नछुङ चयन भएपछि रिक्त बनेको सचिव पदमा समेत भूमिनन्द राईलाई नियुक्त गरेको छ ।

नवनिर्वाचित जिल्ला अध्यक्ष नछुङ जनता समाजवादी पार्टी नेपाल (जसपा) खोटाङको उपाध्यक्ष पद परित्याग गरेर वि.सं. २०८२ मङ्सिर–२ गते श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको थियो । जसपा नेपालमा हुँदा पहिलो स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडाध्यक्षमा पराजित हुनुभएका नछुङ पार्टी प्रवेश गरेको छोटो समयमै जिल्ला अध्यक्ष चयन हुनुभएको हो ।

नवनिर्वाचित जिल्ला अध्यक्ष नछुङले आफूलाई पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुहुँदै सङ्गठनलाई एकताबद्ध गर्दै जनताको बीचमा सक्रिय रूपमा काम गर्ने बताउनुभएको छ । जिल्ला कार्यसमितिको बिस्तारित बैठकबाट निराजन राईलाई प्रदेश सदस्यमा सिफारिस गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

गृह जिल्ला खोटाङ भइ धरानमा बस्दै आउनुभएका हर्कराज राई ‘हर्क साम्पाङ’ नेतृत्वमा श्रम संस्कृति पार्टी स्थापना भएपछि खोटाङमा प्रताप राई संयोजक र उमा चाम्लिङ सहसंयोजक चयन हुनुभएको थियो । वि.सं. २०८२ असोज–६ गते स्थापना भएको श्रम संस्कृति पार्टीले जिल्लाका दशवटै स्थानीय तह तथा ७३ वडा समिति र ४५ वटा टोल समिति गठन गरेको जनाइएको छ ।

निवर्तमान जिल्ला अध्यक्ष एवम् नवनिर्वाचित प्रदेश समिति अध्यक्ष राईले पार्टी स्थापना भएको छ महिनामै देशभर एकसाथ भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई खोटाङबाट निर्वाचित गराउन सफल हुनुभएको छ । गत फागुन–२१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका केन्द्रीय महासचिव आरेन राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेनले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा एमालेका उम्मेदवार देवबिक्रमले १२ हजार ७१४ मत प्राप्त गर्नुभएको थियो । दुईजना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा नेपाली काँग्रेसका उम्मेदवार ११ हजार ९५७ मतसहित तेस्रो हुनुभएको थियो ।

पार्टी स्थापना भएको छ महिनामै राष्ट्रिय दल बन्न सफल श्रम संस्कृति पार्टीले अब हुने प्रदेश र स्थानीय तहको निर्वाचनमा देशभर धेरै ठाउँ जित हात पार्ने राजनीतिक विश्लेषकहरुको अनमान छ । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा र दशवटा स्थानीय तह रहेको खोटाङमा पनि श्रम संस्कृति पार्टीप्रति जनताको विश्वास बढ्दै गएको देखिएको छ ।

तपाईको प्रतिक्रिया