खोटाङ, १२ जेठ । अर्काको श्रीमतीलाई आफ्नो घर भित्र्याएको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३३ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुनमा श्रीमान र दुई छोराछोरी छाडेर राजकुमारको घर भित्रिएकी २८ वर्षीया शान्ति चर्मकारको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले राजकुमारलाई पक्राउ गरेको हो ।
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका राजकुमारले जेठ–९ गते बिहान आफ्नो श्रीमती शान्तिको लडेर मृत्यु भएको भन्दै आफन्त तथा छिमेकीलाई खबर गरेपछि घटना सार्वजनिक भाएको थियो । हत्या आरोपित राजकुमारले आफन्तलाई दिएको जानकारीको आधारमा घटनास्थल पुगेका स्थानीयले आफ्नै घरभित्र खाटमाथि शङ्कास्पद अवस्थामा शान्तिको शव फेला पारेका थिए ।
घटनास्थल पुग्दा मृतक शान्ति चर्मकारको शरीरभरि निलडाम देखिएको बाँझेच्यानडाँडाका वडा सदस्य मुगाधन राईले जानकारी दिनुभएको छ । “घटनास्थल पुगेर हेर्दा शान्ति चर्मकारको शव गन्हाउन थालिसकेको र अनुहार लगायत शरीरका विभिन्न भागमा चोटपटक देखिन्थ्यो । घरमा श्रीमान–श्रीमती मात्रै बस्ने भएकाले केही दिनअघि नै हत्या भएको हुन सक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “घटनाको विषयमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्छ । घटनाको अनुसन्धानमा प्रहरी प्रशासनमाथि हाम्रो पूर्ण सहयोग रहन्छ ।”
श्रीमतीको शव नजिकै आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ–९ गते पक्राउ परेका राजकुमारविरुद्ध जिल्ला अदालत खोटाङबाट जेठ–११ गते (सोमबार) सात दिनको म्याद थपगरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले खोटाङले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मृतक शान्तिको शव परिवारका सदस्यहरुले कानूनी प्रक्रिया पूरागरि जिल्ला अस्पताल खोटाङमा परीक्षण गराएर जेठ–१० गते राति मृत्यु संस्कारअनुसार अन्त्यष्टि गरेको स्थानीयले बताएका छन् ।
घरैमा मृत फेला परेकी शान्ति चर्मकारलाई आफ्नै श्रीमानले कुटपिटगरी हत्या गरेको आरोपमा राजकुमार राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । “अनुसन्धानका लागि पक्राउ गरिएका राजकुमारले श्रीमतीलाई कुटपिट गरेकोसम्म स्वीकार गरिसकेका छन् । अहिले उनलाई प्रहरी हिरासतमा राखिएको छ”, उहाँले भन्नुभयो, “घटनाको विषयमा थप अनुसन्धान गर्न बाँकी छ । उनीविरुद्ध मृतकका भाइले किटानी जाहेरीसमेत दिएका छन् ।”
स्थानीयले दिएको जानकारीअनुसार शान्तिको पहिलो श्रीमानतर्फ पाँच वर्षकी छोरी र दुई वर्षका छोरा छन् । सवारी चालकको रुपमा काम गर्दै आएका पश्चिम नेपालका पहिलो श्रीमानसँगको सल्लाहमै छोराछोरीसहित माइतीघर आएर बसिरहेको अवस्थामा शान्तिले राजकुमारसँग विवाह गरेको खुलेको छ ।
श्रीमती हत्या आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका राजकुमार यसअघि पनि पटक–पटक झगडामा मुछिने गरेका थिए । राजकुमारमाथि विभिन्न युवतीलाई श्रीमती भन्दै घरमा ल्याउने र कुटपिट गर्ने गरेको आरोपसमेत लाग्ने गरेको थियो ।
वडा सदस्य राईका अनुसार केही समयअघि पनि आफ्नो घर भित्र्याइएकी एक युवतीलाई कुटपिट गरेपछि छिमेकीले उद्धार गरेर माइती पक्षको जिम्मा लगाएको बताइएको छ । धेरै युवतीलाई घर भित्र्याए पनि अहिलेसम्म छोराछोरी नभएका राजकुमारले धेरैको जीवनमाथि खेलबाड गरेको स्थानीयको आरोप छ ।
आरोपित राजकुमारले आफ्नै बुबालाई समेत कुटपिट गरेर गम्भीर घाइते बनाएको आफन्तले बताएका छन् । छोराको कुटाइबाट बुबाको टाउकोमा गम्भीर चोट लागेपछि शल्यक्रिया गरिएको वडा सदस्य राईले जानकारी दिनुभएको छ ।


