पत्रकार महासङ्घ खोटाङद्धारा दुईजना पत्रकार पुरस्कृत तथा पाँचजनालाई सम्मान

Minakshi Rai

खोटाङ, ९ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँचजनालाई सम्मान गरेको छ । पत्रकार महासङ्घ खोटाङले आफ्नो १२ औँ साधारणसभा उद्घाटनको अवसर पारेर शनिबार जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँजना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।

पुरस्कृत हुनेमा पत्रकार महासङ्घका पूर्वसचिव उत्तम चौलागाईँ तथा वर्तमान कार्यसमितिका सहसचिव राजन ठटाल रहनुभएको छ । कान्तिपुर टेलिभिजनका खोटाङ सम्वाददाताका रुपमा कार्यरत चौलागाईँ र एभी न्यूज टेलिभिजनका खोटाङ सम्वाददाता ठटाललाई यस वर्षको “विकास पत्रकारता पुरस्कार’ प्रदान गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ ।

पत्रकार चौलागाईँ र ठटालले जिल्लामै रहेर समाज, देश तथा विदेशमा रहेका नागरिकलाई सुसूचित गराउने कार्य गरेको भन्दै नगद रु पाँच÷पाँच हजार राशिको पुरस्कार प्रदान गरेको छ । तत्कालीन जिल्ला विकास समिति खोटाङसँगको सहकार्यमा पत्रकार महासङ्घ खोटाङले स्थापना गरेको विकास पत्रकार कोषबाट हरेक पटकको साधारणसभामा जिल्लामा क्रियाशील दुई÷दुईजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

सम्मानित हुने अग्रज पत्रकारहरुमा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, पूर्वअध्यक्षहरु डम्बरसिङ राई र दमन राई, अग्रज पत्रकार भीम राई र निवर्तमान अध्यक्ष दिलीप खत्री रहनुभएको छ । पत्रकारिताको माध्यमबाट सभ्य समाज निर्माणका लागि अग्रज पत्रकारहरुले खेलेको भूमिकाको उच्च मूल्याङ्कलनसहित उहाँहरुको त्याग, तपस्या र योगदानप्रति धन्यवाद ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनुभएको छ ।

पुरस्कृत तथा सम्मानित पत्रकारहरुलाई नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा.सुरेश आचार्य र शिव गाउँले लगायतले दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य राजकुमार ओलीको उपस्थितिमा आयोजित साधारणसभाले आगामी वर्षका लागि खोटाङ शाखाले तय गरेको विभिन्न नीति तथा कार्यक्रमसमेत पारित गरेको छ ।

दिक्तेलस्थित होटल शुभदिनमा आयोजना गरिएको साधारणसभाले पत्रकार महासङ्घले स्थापना गरेको ‘जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’लाई समेत मान्यता दिएको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यवसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले रु दश लाख राशिको जेष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको हो ।

जेष्ठ पत्रकारहरुको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरुको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । “पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यवसायिक तथा उत्तरदायी बनाउन जेष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ । यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा रु दश लाख जम्मा गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “कोषबाट ६५ वर्ष पूरा गरेका पत्रकारलाई हरेक महिना मासिक रु तीन हजारका दरले पेन्सन प्रदान गर्छौँ । जुन व्यक्ति २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आवद्ध भएको हुनुपर्नेछ ।”

सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा स्थापना गरिएको जेष्ठ पत्रकार पेन्सन कोष नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको मातहतमा रहने जनाइएको छ । पेन्सन कोषबाट प्रधान सम्पादक, सम्पादक, सम्वाददाता, समाचार वाचक, फोटो पत्रकार, व्याङ्गे चित्रकार लगायतले सुविधा लिनसक्ने कार्यविधिमा उल्लेख छ ।

यसैबीच, नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरुलाई सहभागी गराएर ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी आयोजना गरेको पाँच दिने तालिमसमेत सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासङ्घ खोटाङले जेठ–५ गतेदेखि आयोजना गरेको पाँच दिने पत्रकारिता तालिममा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षद्धय डा. आचार्य र गाउँलेले खोज पत्रकारिता तथा फोटो पत्रकार सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विकास कार्कीले मल्टिमिडियाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । दिक्तेल बजारस्थित होटल शुभदिनमा सुरु गरिएको पत्रकारिता तालिममा जिल्लामा क्रियाशील ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया