जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश

Minakshi Rai

खोटाङ, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका उम्मेद्वार राकेश राई र प्रदेश समिति सदस्य एवम् खोटाङ जिल्लाका कार्यवाहक पार्टी अध्यक्ष तथा केपिलासगढी गाउँपालिकाका निर्वाचित उपप्रमुख गुरुराज राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । अशोक राई नेतृत्वको जसपाका केन्द्रीय सदस्य राकेश र प्रदेश सदस्य एवम् कार्यवाहक जिल्ला अध्यक्ष गुरुराज बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो ।

नवप्रवेशी नेताद्धयलाई पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’, उपाध्यक्ष देवराज लामा, महासचिव एवम् खोटाङका प्रतिनिधिसभा सदस्य आरेन राई, उपमहासचिव समीर तामाङ, विदेश विभाग प्रमुख तेज राई लगायतले स्वागत गर्नुभएको छ । नेपालमा अबको राजनीतिक निकास श्रम संस्कृति पार्टीले मात्रै दिनसक्ने भएकाले आफूहरु जसपा परित्याग गरेर यस पार्टीमा प्रवेश गरेको नेताद्धयले प्रतिक्रिया दिनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै पार्टीका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य साम्पाङले नवप्रवेशी श्रमदाताहरुलाई योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेदारी दिने बताउनुभएको छ । “श्रम संस्कृति पार्टीमा प्रवेश गर्न जति सजिलो छ । त्यति नै सजिलोगरी निस्कासन पनि गरिन्छ”, उहाँले भन्नुभयो, “यहाँ स्वच्छ छवि भएका व्यक्तिहरु मात्र अटाउने गर्छन् । कसैले गलत नियत राखेको खण्डमा तुरुन्तै पनि कारबाही हुन्छ ।”

ललितपुरस्थित सिङ फेमिली रेष्टुरेन्टमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँगसमेत पार्टी एकताको विषयमा सकारात्मक छलफल भइरहेको जानकारी दिनुभएको छ “रवि र बालेन मिल्दा हुन्छ । हामी मिल्दा हुँदैन ? अब मिलेर जानुको विकल्प छैन”, उहाँले भन्नुभयो, “विचार मिल्नेहरुबीच एकता गर्छौँ । तर, चुनावी तालमेल कसैसँग गर्दैनौँ ।”

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव आरेनले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा श्रम संस्कृति पार्टीले नयाँ इतिहास रच्ने दाबी गर्नुभएको छ । “श्रम संस्कृति पार्टीप्रति जनताको भरोसा बढ्दै गएको छ । दिनानुदिन श्रमदाताहरु हाम्रो पार्टीमा एकतावद्ध भइरहेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रवादी विचार भएका विभिन्न पार्टीका नेताहरु हाम्रो पार्टीमा जोडिनुभएको छ । आगामी निर्वाचनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रो पार्टीले इतिहास रच्नेछ ।”

श्रम संस्कृति पार्टीमा यसअघि बराहपोखरी गाउँपालिकाका उपप्रमुख भूबलराज राई, जसपा खोटाङका अध्यक्ष निर्मल राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका निर्वाचित वडाध्यक्ष मुगाधन राई लगायतका नेताहरु प्रवेश गरिसक्नुभएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश जसपाका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टी प्रवेश गरेपछि गृह जिल्ला खोटाङमै अशोक राई कार्यकर्ताविहीन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया