खोटाङ, १६ असार । खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई मङ्गलबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्रा १५ महिना मुनिका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ११ महिनासम्मका एक हजार ४९९ जना, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका एक हजार २६८, २४ देखि ५९ महिनासम्मका पाँच हजार २१७ र १६ देखि ५९ महिनाका छ हजार ४७८ जना बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा वडा कार्यालय हुँदै सबै पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको जनाइएको छ । यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तह र स्वास्थ्यकर्मीलाई जिल्ला खोप समन्वय समितिले प्रशंसापत्रसहित सम्मान गरेको छ ।
जिल्ला समन्य समितिका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कडेल, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय तहका स्वास्थ्य शाखा संयोजक, महिला स्वस्थ्य स्वयम्सेविका लगायतको उपस्थिति रहेको थियो ।
खोटाङलाई पहिलोपटक वि.सं. २०७४ पुस–१४ गते ३१ औँ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको थियो । त्यसपश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिदै आइएको छ ।


