दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५ दिने मूर्तिकला कार्यशाला

Minakshi Rai

खोटाङ, १६ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकला सम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये रु दश लाखमा नगरपालिकाले १५ दिने मूर्तिकला कार्यशाला आयोजना गरेको हो ।

दिक्तेलस्थित शुभम् फाउण्डेशनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आवद्ध १८ जना मूर्तिकारहरुले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति निर्माण सुरु गरेका छन् । विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारहरुले बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

मूर्तिकला कार्यशालाको औपचारिक उद्घाटन मङ्गलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगरप्रमुख भट्टराई र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले ढुङ्गामा छिनो र मार्तलले आकृति कोरेर गर्नुभएको छ । कार्यशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख राईले नगरपालिकाको यो मूर्तिकला कार्यशाला दीर्घकालीन महत्वको भएको बताउनुभएको छ ।

कार्यशालामा गौतमबुद्धको अर्धकदको मूर्ति, जट्टाधारी शिवजीको अर्धकदको मूर्ति, किरात संस्कार तथा संस्कृतिसँग सम्बन्धित ढोल, झ्याम्टा, वाबु (चिन्डो) तथा धनुषवाण, लोपोन्मुख जनावर रेडपाण्डा लगायतका कलात्मक मूर्ति निर्माण गरिने अभियानका निर्देशक नकुल सिंले जानकारी दिनुभएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने कार्यशालामा प्राज्ञिक, वरिष्ठ मूर्तिकार, कला साधक तथा कलाकारहरुले आफ्नो अवधारण अनुसारका मूर्त तथा अमूर्त शैलीमा कलासमेत सिर्जना गर्ने जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको मझुवागढीलाई सौन्दर्यकरण गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकार (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका)को ठूलो धनराशी लगानी भइरहेको छ । दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल करिब ४५ मिनेट उक्कालो चढ्दा पुगिने मझुवागढीलाई साँस्कृति विविधतामा आधारित पर्यटकीय गन्तव्य बनाउन कलात्मक मूर्ति राख्ने तयारी गरिएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले भौतिक पूर्वाधार विकाससँगै कला, साहित्य तथा सिर्जनाका कार्यक्रमहरुसमेत सञ्चालन गरिरहेको छ । पर्यावरण संरक्षणका रेडपाण्डा तथा थार महोत्सव, स्थानीय कच्चा पदार्थलाई प्रयोगमा ल्याउन राष्ट्रिय बाँस सम्मेलन, चित्रकलालाई प्रवद्र्धन गर्न मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी विभिन्न ४१ देश ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । नगरपालिकाले स्थापना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला सङ्ग्रहालय’का लागि सङ्घीय सरकारले रु तीन करोड बजेटसमेत उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया