कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता–२०८३ असार–२२ र २३ गते दिक्तेलमा

Halesi Khabar

खोटाङ, २० असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले यही असार–२२ र २३ गते दिक्तेल बजारमा कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

कोशी प्रदेश बुद्धिचाल सङ्घ सह–आयोजक तथा जिल्ला बुद्धिचाल सङ्घ खोटाङको व्यवस्थापनमा सञ्चालन हुने प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिनुभएको छ । दशौँ स्थान हासिल गर्ने खेलाडीसम्मलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजार, रु आठ हजार र रु सात हजार तथा सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीलाई जनही रु पाँच÷पाँच हजार प्रदान गरिने जनाइएको छ ।

सात समूहमा विभाजन गरेर फरक–फरक विद्यामा पुरस्कृत गर्नेगरी आयोजना गर्न लागिएको प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता अन्तरगत महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु चार हजार प्रदान गरिने शनिबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । यस्तै, विद्यार्थीतर्फ प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई नगद रु पाँच हजार, रु चार हजार र रु तीन हजार तथा खोटाङ जिल्ला प्रथम हुने खेलाडीलाई नगद रु चार हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम हुने खेलाडीलाई नगद रु तीन हजारको साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

रेटिङतर्फ एक हजार ७०० र एक हजार ६०० मुनिका खेलाडीलाई नगद रु चार÷चार हजार, उमेर समूहतर्फ १६ वर्ष मुनिकालाई रु चार हजार तथा १२ वर्ष मुनिका खेलाडीलाई नगद रु तीन हजार प्रदान गरिने जनाइएको छ । प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन (उच्च पहाडी क्षेत्रका उत्कृष्ट) हुने खेलाडीलाई नगद रु चार हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

स्वीस लिग फरम्याट (स्वीजरल्याण्डमा प्रचलित नियम) अन्तरगत सञ्चालन गरिने प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न करिब रु आठ लाख २४ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिने प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव विप्लव घोसले गर्नुहुने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया