छोरीको स्मृतिमा जेष्ठ नागरिक सङ्घलाई सामग्री हस्तान्तरण

Minakshi Rai
।

खोटाङ, १५ असोज । दिक्तेलमा ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । ‘दीर्घायुको युग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने नारासहित दिक्तेलमा ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।

दिवसको अवसरमा ज्येष्ठ नागरिक संघ खोटाङलाई पूर्वअध्यक्ष दुर्गाप्रसाद घिमिरेले आफ्नी स्वर्गीय छोरी इन्दिरा घिमिरे पाण्डेको स्मृतिमा करिब रु २५ हजार बराबरका सामग्री हस्तान्तरण गर्नुभएको छ । पूर्वअध्यक्ष घिमिरे र उहाँकी श्रीमती गोमादेवी घिमिरेकी छोरी तथा दीपक पाण्डेकी श्रीमती स्वर्गीय इन्दिरा घिमिरे पाण्डेको सम्झनामा चम्चा, स्टिलका बाल्टिन, आरी, डाडु, पन्यु, कराही, थाल र चकटीलगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष धनपति आचार्यले स्व. इन्दिराको स्मृतिमा गरिएको सहयोगले ज्येष्ठ नागरिकका लागि आवश्यक सामग्री व्यवस्थापनमा सहयोग पुगेको बताउनुभएको छ । उहाँले यस्ता सहयोगले ज्येष्ठ नागरिकप्रति सम्मान र सामाजिक उत्तरदायित्वको भावना बढाउने उल्लेख गनुभएको छ ।

दुई छोराको आमा स्वर्गीय इन्दिराको ३३ वर्षको अल्पायुमै निधन भएको थियो । विभिन्न अस्पतालमा लगेर उपचार गराउँदा पनि उनको रोग पहिचान हुन नसकेको बुबा दुर्गाप्रसाद घिमिरेले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया