बुबाको वार्षिक पुण्यतिथिमा आर्यघाटमा फलैँचा निर्माण तथा मन्दिर सरसफाइ

Minakshi Rai
।

खोटाङ, १३ असोज । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका अध्यक्ष हरिवोल आचार्यको परिवारले आफ्नो स्वर्गीय बुबाको वार्षिक पुण्यतिथिको अवसर पारेर आर्यघाटमा फलैँचा निर्माण तथा मन्दिर सरसफाइ गरेका छन् । स्वर्गीय बुबा हरिप्रसाद आचार्यको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारका सदस्यहरुले आज (मङ्गलबार) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको मेवाखोलास्थित गुप्तेश्वर आर्यघाटमा फलैँचा निर्माण तथा गुप्तेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरेका हुन् ।

स्वर्गीय बुबाको वार्षिक पुण्यतिथिमा गरिने फजुल खर्च कटाएर मृत्यु संस्कारका लागि आर्यघाटमा गएका मलामी तथा आफन्त बस्न मिल्नेगरी १४ वटा फलामको फलैँचा निर्माण गरेर स्थापना गरिएको पत्रकार महासङ्घका अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । “हाम्रो मृत्यु संस्कारमा आफ्ना आफन्तको मृत्यु भएको वर्षदिनमा सप्ताह पुरान लगाउने चलन छ । त्यो स्वर्गीय आफन्तले पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन”, उहाँले भन्नुभयो, “हप्तादिनसम्म लगाइने पुरानमा ठूलो खर्च हुन्छ । परिवारका सदस्य अतिथि संत्कार तथा पूजाआजामा खटिदा गलेर हैरान हुन्छन् । त्योभन्दा सबैले उपभोग गर्न पाउनेगरी आर्यघाटमा फलैँचा निर्माण गरिदिएका हौँ ।”

स्वर्गीय बुबाको वार्षिक पुण्यतिथिमा स्थापना गर्नेगरी दिक्तेलबजारमा रु एक लाख ५० हजार बराबरको १४ वटा फलामे फलैँचा निर्माण गरिएको आचार्य परिवारले जनाएका छन् । हिन्दु संस्कारअनुसार एकछाक खाएर बस्नेदिन आर्थत् पुण्यतिथिको अघिल्लोदिन सातवटा आर्यघाट लगेर स्थापना गरिएको र बाँकी सातवटा केहीदिनपछि मौसम खुलेको अवस्थामा लगेर स्थापना गरिने जनाइएको छ ।

आर्यघाटमा फलैँचा निर्माणसँगै नजिकै रहेको गुप्तेश्वर महादेव मन्दिर परिसरसमेत सरसफाइ गरिएको आचार्य परिवारले जनाएका छन् । स्वर्गीय हरिप्रसाद आचार्यको परिवारले मृत्यु संस्कारमा गरिने फजुल खर्च कटाएर सामाजिक कामको थालनी गर्नु अरुका लागि पनि प्रेरणाको स्रोत बनेको स्थानीयवासी एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्यले बताउनुभएको छ ।

तीन छोरा र तीन छोरीका स्वर्गीय बुबा हरिप्रसादको वि.सं. २०८२ भदौ–२६ गते ९२ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय हरिप्रसाद आचार्यका जेठा छोरा पर्शुराम र श्रीमती मनमायाँ आचार्यको यसअघि नै मृत्यु भइसकेको छ ।

बुबाको पुण्यतिथि पारेर आर्यघाटमा स्थापना गरिएको फलामे फलैँचामा स्वर्गीय बुबा, आमा र दाजुको नाम उल्लेख गरिएको छ । निर्माण व्यवसायी तथा सामाजिक अभियान्ता स्वर्गीय बुबा हरिप्रसादको स्मृतिमा प्रत्येक वर्षको पुण्यतिथिमा सामाजिक काम गर्ने योजना बनाइएको माहिला छोरा टङ्कप्रसादले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया