खोटाङ, १० असोज । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङको छैटौँ जिल्ला अधिवेशन तथा १२ औँ साधारणसभा सुरु भएको छ । व्यवसायी सङ्घको नयाँ नेतृत्व चयन तथा भावी रणनीति निर्माणका लागि जिल्ला अधिवेशन तथा १२ साधारणसभा आयोजना गरिएको हो ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको सङ्घको जिल्ला अधिवेशन तथा साधारणसभामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ । जिल्ला अधिवेशन तथा साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समन्वय प्रमुख राईले सक्षम नेतृत्व चयन गर्दै दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
जिल्ला अधिवेशन तथा साधारणसभा उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, निर्माण व्यवसायी अर्जुनकुमार खड्का ‘झङ्कार’ लगायतले सम्बोधन गर्नुभएको थियो । उद्घाटनसत्रका वक्ताहरुले जिल्लामा हुने विकास निर्माणका योजनालाई गुणस्तरीय बनाउँदै तोकिएको समयमा सम्पन्न गर्न जोड दिएका छन् ।
उद्घाटनसत्रमा निर्माण व्यवसायी सङ्घको पूर्वअध्यक्षद्धय कर्णबहादुर खत्री र कुमार आचार्य तथा निर्माण कम्पनी एमए डब्लू अर्थमुभर्स प्रा.लि. धोबीघाट ललितपुरलाई सम्मान गरिएको छ । व्यवसायी सङ्घका पूर्वअध्यक्षहरुले देखाउनुभएको सकारात्मक कामको उच्च मूल्याङ्कन तथा निर्माण कम्पनीलाई गुणस्तरीय काम गरेबापत सम्मान गरिएको निवर्तमान अध्यक्ष दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।
ं
जिल्ला अधिवेशन तथा साधारणसभा उद्घाटनसत्र सम्पन्न भएसँगै बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा व्यवसायी सङ्घको समिक्षा, भावी रणनीति निर्माण तथा नयाँ नेतृत्व चयनमा छलफल भइरहेको प्रतिनिधिहरुले बताएका छन् ।
छैटौँ जिल्ला अधिवेशनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्नेगरी छलफल अगाडि बढाइएको आयोजकले जनाएको छ । निर्माण व्यवसायी सङ्घ खोटाङका लागि निवर्तमान वरिष्ट उपाध्यक्ष कृष्ण घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुने लगभग सहमति भएको समाचार स्रोतको दाबी छ ।


