काँग्रेस खोटाङको क्षेत्रीय अधिवेशन असोज–१५ गते हुने

Minakshi Rai
।

खोटाङ, १० असोज । नेपाली काँग्रेस खोटाङको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज–१५ गते हुने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले असोज–१० गतेका लागि निर्धारण गरेको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन देशभर परिरहेको भारी वर्षाका कारण स्थगित गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागबाट भारी वर्षा तथा हावाहुरी आउन सक्ने सूचना प्राप्त भएपछि पूर्वनिर्धारित मितिको अधिवेशन स्थगित गरी नयाँ मिति तोकिएको काँग्रेस खोटाङका सचिव समीर राईले बताउनुभएको छ । क्षेत्रीय अधिवेशनका लागि जिल्लाका स्थानीय तह तथा वडास्तरका अधिवेशनहरू सम्पन्न गर्नेक्रम जारी छ ।

दश स्थानीय तह रहेको खोटाङमा नौँ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भने स्थानीय तहको नेतृत्व चयन हुन बाँकी रहेको छ ।

यस्तै, जिल्लाका ७९ वडामध्ये ७८ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा भने वडा अधिवेशन हुन बाँकी रहेको काँग्रेस खोटाङले जनाएको छ ।

स्थानीय तह र वडा अधिवेशनको बाँकी प्रक्रिया पूरा गर्दै असोज–१५ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने काँग्रेसको तयारी छ । क्षेत्रीय अधिवेशनपछि १५ औँ महाधिवेशनअन्तरगत जिल्लामा हुने थप अधिवेशन तथा निर्वाचनका प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया