खोटाङ, १० असोज । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङको अध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन हुनुभएको छ । निर्माण व्यवसायी सङ्घ खोटाङको शनिबार दिक्तेलमा सम्पन्न छैटौँ जिल्ला अधिवेशन तथा १२ औँ साधारणसभाबाट घिमिरे सर्वसम्मत् अध्यक्षमा चयन हुनुभएको हो ।
नवनिर्वाचित जिल्ला अध्यक्ष घिमिरे यसअघि निर्माण व्यवसायी सङ्घ खोटाङको निवर्तमान वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । पच्चीस सदस्यीय जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश राई, उपाध्यक्षहरुमा जोसेप रिजाल र जितेन राई, महासचिवमा दीलचक्र राई, सचिवहरुमा सुदिप दाहाल र सविन राई ‘विज्ञान’, कोषध्यक्षमा दिवासन राई र सह–कोषाध्यक्ष मैया आचार्य चयन हुनुभएको छ ।
निर्माण व्यवसायी सङ्घको जिल्ला सदस्यहरुमा प्रविन आचार्य, भुवन आचार्य, भैरवकाजी बस्नेत, यादवसेन राई, मनोज राई, नरेन्द्र ढकाल, युवक राई, उद्धव राई, पवनकुमार श्रेष्ठ, सुभास तिलुङ राई, पौराणिक सुवेली, शरद राई, सन्तोष राई, शिवकुमार राई, राजाराम यादव र टीकाराम श्रेष्ठ चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ओमप्रकाश घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएउनुभएको हो ।
निर्माण व्यवसायी सङ्घको प्रदेश प्रतिनिधि र सङ्घीय प्रतिनिधि भने, जिल्ला कार्यसमितिको पहिलो बैठकबाट चयन गर्ने नवनिर्वाचित महासचिव राईले जानकारी दिनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित निर्माण व्यवसायी सङ्घको जिल्ला अधिवेसन तथा साधारणसभाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सनबहालुर राईले गर्नुभएको थियो ।
जिल्ला अधिवेशन तथा साधारणसभा उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, निर्माण व्यवसायी अर्जुनकुमार खड्का ‘झङ्कार’ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशन उद्घाटनसत्रका वक्ताहरुले जिल्लामा सञ्चालन हुने विकास निर्माणका योजनालाई गुणस्तरीय बनाउँदै तोकिएको समयमा सम्पन्न गर्न जोड दिएका छन् ।
निर्माण व्यवसायी सङ्घको अधिवेशन उद्घाटनसत्रमा निर्माण व्यवसायी सङ्घ खोटाङका पूर्वअध्यक्षद्धय कर्णबहादुर खत्री र कुमार आचार्य तथा निर्माण कम्पनी एमए डब्लू अर्थमुभर्स प्रा.लि. धोबीघाट ललितपुरलाई सम्मान गरिएको छ । पूर्वअध्यक्षद्धयले व्यवसायी तथा सङ्घका लागि देखाउनुभएको सकारात्मक कामको उच्च मूल्याङ्कन तथा निर्माण कम्पनीलाई जिल्लामा गुणस्तरीय काम गरेबापत सम्मान गरिएको निवर्तमान अध्यक्ष दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।


